झापा, कात्तिक २५ - जेनजी आन्दोलनको क्रममा असोज २४ गते देशैभरि भएका आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न जोसुकै भए पनि अब कानुनी घेराबाट उम्किन असम्भव बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको अनुसन्धान तीव्र पारिँदै, फोटो र भिडियो प्रमाणका आधारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिएको छ।

नेपाल प्रहरीले तोडफोड, आगजनी र लुटपाटजस्ता घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नहरूलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन ‘प्रमाणमै आधारित अनुसन्धान अभियान’ सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार अब दोषी जतिसुकै शक्तिशाली किन नहोस्, प्रमाणले बोलेपछि कानुनको दायरा अनिवार्य हुन्छ।

प्रहरी स्रोतका भनाइमा, “घटनाको प्रमाण लुकाउने वा मेटाउने प्रयास स्वयम् अपराध हो। अब क्यामेराले देखेको सत्यबाट कोही उम्कन सक्दैन।”

यसैबीच, नेपाल प्रहरीले सम्बन्धित सम्पत्ति धनी, स्थानीय प्रशासन र सर्वसाधारणलाई तोडफोड, आगजनी वा क्षतिसँग सम्बन्धित प्रमाण (फोटो, भिडियो) सहित जाहेरी दर्ता गर्न आग्रह गरेको छ।

समाजमा फैलिएको ‘राजनीतिक आडमा उन्माद गर्न सकिन्छ’ भन्ने सोचलाई कानुनी कठोरताले तहलगाउने संकेतसहित प्रहरीले दिएको यो सन्देशले आन्दोलनका क्रममा हिंसा गर्नेहरूमा मनोवैज्ञानिक डर र त्रास बढाएको देखिन्छ।