झापा, कात्तिक २४ । जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्न भएकाहरूमाथि झापा प्रहरीले कडा निगरानी बढाएपछि स्थानीय तहमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने डरले फरार हुन थालेका छन् ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका अनुसार कन्काई नगरपालिका क्षेत्रका विभिन्न स्थानमा तोडफोड, आगजनी र लुटपाटका घटना भएका थिए । कन्काई-३ का विष्णु बराइली पक्राउ परेपछि प्रहरीले अन्य संलग्न व्यक्तिहरूको पनि पहिचान गरी खोजी तीव्र पारेको छ ।
प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा कन्काई नगरपालिकाको कार्यालय भवन, सवारी साधन, वडा कार्यालयहरू, नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको घर, उपप्रमुख आशाकुमारी शिवाकोटीको घर, वडाध्यक्ष युवराज चौलागाईंको घर, कांग्रेस जिल्ला सभापति देउकुमार थेवेको घर लगायतका स्थानहरूमा व्यापक क्षति पुर्याइएको थियो ।
यी घटनामा संलग्न धेरै व्यक्तिहरूको फोटो र भिडियो प्रमाण प्रहरीले संकलन गरेको छ । ती प्रमाणका आधारमा प्रहरीले एकपछि अर्को गरी पक्राउ अभियान तीव्र बनाएको छ ।
सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्नेहरूलाई “जुनसुकै ठाउँमा भए पनि कानुनी दायरामा ल्याइने” प्रहरीको चेतावनीसँगै स्थानीय तहका तोडफोडमा संलग्न धेरै जना हाल गाउँ-टोल छाडेर फरार रहेको स्रोतले जनाएको छ ।
“राज्यको सम्पत्ति र जनताको घर-घराबाट लुटपाट गर्ने जोकोहीलाई पनि उम्कन दिइने छैन । फोटो र भिडियोका आधारमा एक-एक गरी सबैलाई पक्राउ गरिन्छ।”
यससँगै झापामा जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनी गर्ने समूहमाथि प्रहरीले थप कारवाही विस्तार गरेको र अन्य स्थानका प्रहरी इकाइहरूसँग समन्वय गरेर खोजी कार्य जारी राखेको छ ।
जरुरी सूचना :





















