संखुवासभा । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-११ पुलडाँडाँस्थित लेगुवा-खाँदबारी सडकखण्डमा एउटा टिपर दुर्घटना भएको छ।

लेगुवाबाट खाँदबारीतर्फ आइरहेको मधेश प्रदेश ०३-००१ क २९२६ नम्बरको इट्टा लोड गरिएको टिपर अनियन्त्रित भई सडकको दायाँ किनारबाट करिब १० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनाबारे जानकारी प्राप्त भएपछि अस्थाई प्रहरी पोष्ट सभाखोला संखुवासभाबाट प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद यादवको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

दुर्घटनामा चालक चुक्त बहादुर राउत (३० वर्ष, सिन्धुली न.पा.-१२) र सहचालक रविन फुयाल (२८ वर्ष, ट्यामकेमयु गा.पा.-९, भोजपुर) घाइते भएका छन्।

घाइते दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको र उनीहरूलाई तत्कालै स्थानीय मनकामना अस्पताल, तुम्लिङटारमा उपचारका लागि पठाइएको प्रहरी स्रोतले जनाएको छ।

घटनामा संलग्न टिपर हाल पनि घटनास्थलमै रहेको र सडकमा कुनै प्रकारको अवरोध नभएको प्रहरीको भनाइ छ।

घटनास्थल अस्थाइ प्रहरी पोष्ट सभाखोला संखुवासभाबाट करिब २ किलोमिटर दक्षिण पर्ने बताइएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।