संखुवासभा मकालु गाउँपालिका-५ नुम स्थित कोशी राजमार्गमा खाँदबारीबाट भोटखोला तर्फ जाँदै गरेको को १ ज ३१६९ नम्बरको बोलेरो गाडीमा लागु औषध रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी नुम संखुवासभाबाट खटिएको टोलीले उल्लेखनीय सफलता हासिल गरेको छ।

प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उक्त बोलेरो गाडीलाई रोकी सवारीसाधनको चेकजाँच गर्ने क्रममा चालकको सिट मुनि प्लास्टिकमा प्याक गरिएको अवस्थामा करिब २० ग्राम लागु औषध (खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ) फेला पारेको हो।

प्रहरीले उक्त पदार्थसहित गाडीका चालक - जिल्ला संखुवासभा भोटखोला गाउँपालिका-४ बस्ने २८ वर्षका सुरेश तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरी निरीक्षक श्रेष्ठको संयोजन, तत्परता र सूचनाप्रति देखाएको संवेदनशीलताले लागु औषध नियन्त्रणमा स्थानीय स्तरमै प्रहरीको दृढ प्रतिबद्धता झल्काएको स्थानीयवासीहरूले बताएका छन्। यस घटनाले संखुवासभा प्रहरीले अवैध पदार्थ कारोबारमा देखाएको सक्रियता र व्यावसायिकता पुनः प्रमाणित गरेको मानिएको छ।