काठमाडौं। नेपाल सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को अघिल्लो निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्ने गरी यस्तो निर्णय गरेको हो।


मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ। स्रोतका अनुसार बन्द गरिएका सामाजिक सञ्जालहरूले नेपालमा दर्ता प्रक्रिया पूरा गरेपछि क्रमशः खोलिदिने व्यवस्था गरिएको छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायतका प्लेटफर्ममाथि नियमन गर्न सरकारलाई परमादेश जारी गरेको थियो। अदालतले विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले नेपालमा सामग्री प्रसारण गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।
प्रसारण नियमावलीअनुसार कुनै विदेशी संस्थाले आफ्ना डिजिटल कार्यक्रम नेपालमा डाउनलिंक गरी प्रसारण गर्न चाहेमा अनुमति लिन अनिवार्य छ। यही कानुनी प्रावधान कार्यान्वयन गर्न सरकार अघि बढेको हो।
रिट निवेदनमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको थियो। अदालतको आदेशसँगै सरकार अब दर्ता नभएका सामाजिक सञ्जाललाई तत्कालै बन्द गर्दै आवश्यक कानुनी संरचना निर्माणतर्फ अघि बढेको छ।