भद्रपुर, झापा । सञ्चारको स्तम्भका रूपमा ख्यातिप्राप्त प्रेस क्लब भद्रपुरले आफ्नो १५औं स्थापना दिवसको अवसरमा नयाँ उपलब्धिको ढोका खोलेको छ। नेपाल पत्रकार महासंघ चन्द्रगढी, झापा भवनको माथिल्लो तल्लामा निर्माण सम्पन्न प्रेस क्लबको नयाँ कार्यालय भवन शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भवनको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रको योगदानको उच्च मूल्यांकन गरे। उनले निस्पक्ष, तथ्यपरक र देशको समृद्धितर्फ अभिमुखित पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै भने, “अग्रज पत्रकारहरूले देखाएको बाटो अनुकरणीय छ। अहिलेको कलम देशलाई वैदेशिक रोजगारीको विकल्प खोज्ने दिशामा चल्नुपर्छ।”

मुख्यमन्त्री कार्कीले पत्रकारसँग आबद्ध संघ-संस्थाहरूसँग सरकारको सहकार्य प्रतिबद्ध रहेको दोहोर्‍याउँदै सञ्चारकर्मीहरूलाई आर्थिक रूपान्तरणको अभियानमा साथ दिन आग्रह गरे।

सो अवसरमा पत्रकारिता क्षेत्रमा दीर्घ योगदान पुर्‍याएका अग्रज पत्रकार नकुल काजी र गोविन्द चन्द क्षेत्रीलाई नगद ११ हजार, प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरियो। साथै भवन निर्माणमा सहयोग गर्ने एकराज भट्टराई सहित ३१ संस्था तथा व्यक्तिलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।

क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, महासंघ कोशीका अध्यक्ष भरत खड्का, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराईलगायत विशिष्ट अतिथिहरूले मन्तव्य राख्दै क्लबको सफलताको प्रशंसा गरे।

कार्यक्रमको सञ्चालन रोहित काफ्ले र डिल्ली रमण नेपालले संयुक्त रूपमा गरेका थिए। पत्रकारिता जगतमा प्रेस क्लब भद्रपुरको यो कदम अब निस्पक्ष सूचनाको मूल स्रोत मात्र नभई, समाज रूपान्तरणको अग्रपंक्तिमा रहेको संस्थाको प्रतिक बनेको छ।