झापा, घेराबारी -“कचनकवलवासीको उत्साह, हाम्रो प्रतिबद्धता -हामी निरन्तर सडक पूर्वाधार निर्माणमा अगाडि बढ्दैछौं” भन्ने नारालाई मूर्तरूप दिन कचनकवल गाउँपालिकाले "कालोपत्रे सडक गर्वको वर्ष" अभियानअन्तर्गत संघीय तथा प्रदेश सरकारसँगको साझेदारीमा महत्त्वपूर्ण सडक सञ्जाल विस्तार कार्य तीव्र बनाएको छ।


आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न हुने लक्ष्यका साथ, संघीय सरकार र गाउँपालिकाको समपूरक कोष साझेदारीअन्तर्गत नेत्रमार्गको दल्की-घेराबारी खण्डमा पर्ने टावरटोलदेखि पश्चिम भेलामुनि-कुटिसम्मको करिब १६०० मिटर सडक कालोपत्रे (अस्फाल्ट) गर्न लागिएको छ। १ वटा बक्स कल्भर्टसहित निर्माण हुने उक्त सडकको प्रारम्भिक सर्भे सम्पन्न भइसकेको छ भने अनुमानित लागत करिब २ करोड रुपैयाँ रहेको छ।
त्यस्तै, प्रदेश समपूरक कोषमार्फत प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा सञ्चालित अर्को महत्वाकांक्षी योजना केदार राजवंशीको घरदेखि जमुना पुल हुँदै मोति माध्यमिक विद्यालय दल्किसम्मको ४.७५ किलोमिटर सडकखण्डअन्तर्गत बाँकी रहेको १०५० मिटर खण्डलाई कालोपत्रे गर्न प्रारम्भिक सर्भे आजै सम्पन्न गरिएको छ। सो योजनाका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार दुवै योजनाको सर्भे र लागत तयारी सम्पन्न भइसकेकाले अब चाँडै बोलपत्र प्रस्ताव आह्वान हुनेछ र निर्माण कार्य कार्तिक महिनाबाट शुरु गरिनेछ।
यी योजनाबाट प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसँगको आवागमन थप सहज हुनेछ भने गाउँपालिकाभित्रको अन्तरसम्पर्क सञ्जाल बलियो बन्नेछ। यसले कृषि उत्पादन तथा व्यवसायजन्य सामानको ढुवानी र स्थानीय जनताको दैनिक यात्रा सहज पार्ने अपेक्षा गरिएको छ।
कचनकवल गाउँपालिकाले समावेशी र दिगो विकास रणनीति अनुरूप यातायात पूर्वाधारमा निरन्तर लगानी गर्दै “कालोपत्रे सडक गर्वको वर्ष” अभियानलाई सार्थक बनाउन क्रियाशील रहेको जनाएको छ।