

देशको राजनीतिक तहमा सक्रिय र चर्चित युवा नेतामध्येका एक, कोशी प्रदेशका युवा नेता तथा पूर्व जनमुक्ति सेनाका संचार विभाग प्रमुख प्रशान्त भण्डारी हाल काजी खबरको विशेष संवादमा हुनुहुन्छ। उहाँ पूर्व जनमुक्ति सेनाको कमान्डर समेत रहनु भएको र अहिले प्रदेश कमिटीमा चर्चित युवा नेताको हैसियतमा कार्यरत हुनुहुन्छ। उहाँसँग गरिएका समसामयिक राजनीतिक कुराकानी जस्ताको तस्तै प्रस्तुत गर्दैछौं :
काजी खबर : प्रशान्त जी, आराम हुनुहुन्छ ?
प्रशान्त भण्डारी : हजुर, म भौतिक रूपमा त आरामै छु, तर मानसिक रूपमा अलिक बेचैन छु। किनकि अहिलेको सरकारको गणतन्त्रविरुद्धको रवैया हेर्दा यस्तो लाग्छ, लोकतान्त्रिक प्रणालीको जुँगा उखेल्ने अरू कोही नभएर स्वयं उसका जननीहरू हुन। सत्तामा माओवादीविरुद्ध आतंक छाएको देखिन्छ।
काजी खबर : माओवादी त सकियो भन्छन् नि ?
प्रशान्त भण्डारी : हामी निदाएका छैनौं, नियाल्दै छौं। माओवादी हिजो पनि आगो थियो, आज पनि आगो नै हो, खरानी होइन। केही तत्वहरूलाई लाग्ला कि माओवादी सकियो, निभ्यो। तर म तिनीहरूलाई भन्न चाहन्छु-माओवादी तिमी र तिम्रो परिवारभित्र फैलिसकेको छ। अन्याय गरेर हेर त, तिम्रो महल कसरी एटम बनेर ध्वस्त हुन्छ। माओवादी व्यक्ति र पार्टी मात्रै होइन, असमानताविरुद्धको विद्रोह र विचार हो।
हो, हामीलाई थाहा छ-शान्ति सम्झौता गर्दा “विन-विन” को आधारमा आएको हो। यो नसोच कि जनमुक्ति सेना विघटन भयो। अहिले पनि हामी नेतृत्वको निर्देशन अनुसार अघि बढिरहेका छौं। राजनीतिक एजेन्डा हेर्ने हो भने माओवादी नै विजयी छ-गणतन्त्र, समावेशिता, संघीयता, धर्मनिरपेक्षता र नागरिकको सरकारमा पहुँच सुनिश्चित गर्ने संविधान माओवादीकै उपलब्धि हो।
काजी खबर : कार्यकारी राष्ट्रपतिसहितको जातीय पहिचानको राज्य त माओवादीले गुमायो नि ?
प्रशान्त भण्डारी : तपाईंले गलत बुझ्नुभयो। हामीले उपलब्धिहरूको रक्षा गर्दै बाँकी एजेन्डामा लड्ने निष्कर्षका साथ नोट अफ डिसेन्ट लेखेर अघि बढेका छौं। देशले त्यो एजेन्डा खोजिरहेको छ। अहिले पनि प्रदेश १ मा पहिचानको लडाइँ जारी छ। लुट र भ्रष्टाचारले देश प्रत्यक्ष निर्वाचित कार्यकारीतन्त्र खोजिरहेको छ। ढिलोचाँडो त्यो एजेन्डा पनि पूरा हुन्छ।
काजी खबर : शान्ति प्रक्रियाका धेरै कामहरू बाँकी छन्। पासो थापे जस्तो लाग्दैन ?
प्रशान्त भण्डारी : हुन सक्छ तिनीहरूका लागि पासो, तर हाम्रो लागि होइन। हामी गम्भीर छौं। जनतालाई राज्यसँग जोड्न र शान्ति प्रक्रियाका सबै बाँकी कामहरू पूरा गर्न चाहन्छौं। तर सामन्ती परम्परा अझै हाबी छ। माओवादीले त्यो कहिल्यै स्वीकार गर्दैन।
काजी खबर : गणतन्त्र हिजोको राजतन्त्रभन्दा खराब भयो भन्ने आवाज आउँदैछ। यसले गणतन्त्रलाई धराप पार्दैन ?
प्रशान्त भण्डारी : राजतन्त्र र गणतन्त्रको तुलना नै मिल्दैन। तर लोकतान्त्रिक बस्त्रभिरेका केही तत्वहरूले गणतन्त्र अपहरण गरेर निजी स्वार्थमा चलाइरहेका छन्, जुन गलत हो। जनताले यो कुरा बुझ्दैछन्। गणतन्त्रलाई राजतन्त्रसँग तुलना गर्ने भ्रम सिर्जना भइरहेको छ, तर त्यो भ्रम चिर्ने जिम्मेवारी हाम्रो हो।
काजी खबर : गणतन्त्र जनतासम्म पुर्याउन के गर्न सकिन्छ ?
प्रशान्त भण्डारी : मेरो व्यक्तिगत विचारमा, प्रत्यक्ष कार्यकारीको व्यवस्था ल्याउनुपर्छ। जनताले आफ्नो नेतृत्व आफैँ छान्न पाउने प्रणाली आवश्यक छ। यो अवसर हो, जसले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउँछ।
काजी खबर : अन्त्यमा, अबको YCL को केन्द्रीय योजना र पूर्व कमान्डरको हैसियतमा युवालाई के सन्देश दिन चाहनुहुन्छ ?
प्रशान्त भण्डारी : युवाहरूले देशको नेतृत्व गर्नुपर्छ। YCL जनताको पक्षमा रहनेछ, भ्रष्टाचारविरुद्ध लड्नेछ र समाज परिवर्तनको लागि सडकदेखि संसदसम्म दबाब सिर्जना गर्नेछ। म युवाहरूसँग आग्रह गर्दछु-क्रान्तिको आगो निभ्न नदिनुहोस्।