झापा । कचनकवल गाउँपालिका र करुणा फाउन्डेसनको सहकार्यमा सञ्चालित अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत महेन्द्र रत्न माध्यमिक विद्यालय, कचनकवल-४ (केचना) का १० जना अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम मार्फत शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।


छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालय झोला, कापी, पेन्सिल लगायतका सामग्री वितरण गरियो। उक्त अवसरमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशीले अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नु पालिकाको मुख्य प्राथमिकता भएको उल्लेख गर्दै भन्नुभयो, “शिक्षा नै सशक्तिकरणको मुख्य आधार हो। अपांगता भएका बालबालिकालाई शिक्षामा सहजीकरण गर्दै उनीहरूलाई आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउन पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”
गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवराज भट्टराईले अपांगता भएका व्यक्तिहरूको लागि वातावरणमैत्री विद्यालय निर्माण र पुनःस्थापना कार्यलाई अझ प्रभावकारी बनाइने बताउँदै, “यो कार्यक्रम केवल सामाग्री वितरणमा सीमित छैन; यसले विद्यार्थीको मनोबल वृद्धि गर्दै समाजमा समावेशी शिक्षा प्रणालीको अभ्यासलाई पनि सुदृढ पार्नेछ।”
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, शिक्षा शाखा प्रमुख मनिता बराल, कार्यक्रमकी पालिका प्रमुख अञ्जना लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालय प्रशासनले सक्रिय सहभागिता जनाएका थिए।
कचनकवल गाउँपालिकाले अपांगता भएका विद्यार्थीहरूको जीवनस्तर उकास्न र उनीहरूको हकअधिकार प्रत्याभूत गर्न करुणा फाउन्डेसनसँगको सहकार्यलाई निरन्तर पालिकाभरि विविध कार्यक्रमहरु गरिरहेको छ।