झापा । मिति २०८२ साल जेठ २८ गते दिउँसो करिब २ बजे झापा जिल्ला मेचीनगर नगरपालिका–१२, सब्जीमण्डी क्षेत्रको एक खुला स्थानमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।


प्राप्त जानकारीअनुसार पहाडे मूलको जस्तो देखिने अन्दाजी ५५ देखि ६० वर्ष उमेर समूहका व्यक्ति प्रारम्भिक रूपमा अज्ञात पहिचानमा फेला परेका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट प्रहरी निरीक्षक राजकुमार कार्कीको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी अनुसन्धानको क्रममा मृतकको पहिचान कचनकवल गाउँपालिका–६ का अन्दाजी ४०–४५ वर्षका मोहन खड्का भएको खुलेको छ। मृतक खड्काले विभिन्न स्थानमा लेबर (श्रमिक) काम गर्दै हिँड्ने गरेको बुझिएको छ। घटनास्थलमा मृतकका आफन्त धनराज खड्का (काका छोरा) उपस्थित भएर पहिचान सुनिश्चित गरेका हुन्।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल, भद्रपुरमा राखिएको जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी झापाले जनाएको छ।