पथरिया - झापा जिल्ला कचनकबल गाउँपालिका - १ झकुवा टोलमा सोमबार बिहान करिब ११:४५ बजे दुई घरमा चोरी भएको घटनामा संलग्न पाँच जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार स्थानीय चम्फा राजबंशीको चाँदीको पाँच तोला पाउजु, १५ तोला कमरकोष र नगद रू. १५,००० तथा मञ्जु राजबंशीको घरमा रहेको बाकस फोरेर नगद रू. ६,००० चोरी गरिएको थियो।

चोरीपछिको खोजतलासको क्रममा भारतको झारखण्ड राज्य अन्तर्गत देउघर जिल्लाको मार्गोमुन्दा थानाअन्तर्गत बर्सतिया गाउँका पाँच जना - १८ वर्षीया खुब्सु मल्हर, २२ वर्षीया कुशो देवी मल्हर, २० वर्षीया मनिषा मल्हर, १० वर्षीय छोटु मल्हर र ८ वर्षीया शिवानी मल्हरलाई - नेपाली नगद रू. १५,००० र भारतीय ₹१४० सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई झापा कचनकबल गाउँपालिका–३ स्थित बगान बजारमा रहेको प्रहरी चौकी पथरिया तथा प्रहरी चौकी घेराबारीको संयुत टोलीको कमान्डमा पक्राउ गरिएको हो। उनीहरू हाल प्रहरी पथरिया कार्यालयको हिरासतमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।