झापा,बनियानी - कचनकवल गाउँपालिका-६ स्थित बनियानी मुख्य बजार पश्चिम खोलाबाट बिशाल बस्ती हुँदै सितागढी जाने मार्गमा पर्ने बालुवा खोलामा निर्माणाधीन बक्स कल्भर्टको कार्य अन्तिम चरणमा पुगेको छ।

उक्त स्थानमा रहेको पुरानो कल्भर्ट विगतदेखि नै जिर्ण अवस्थामा रहँदै आएको थियो, जसका कारण स्थानीय बासिन्दा तथा यात्रुहरूले आवतजावतमा निकै कठिनाइ भोग्दै आएका थिए। यस समस्याको दीर्घकालीन समाधानस्वरूप गाउँपालिकाको पहलमा बक्स कल्भर्ट निर्माण कार्य अघि बढाइएको हो।

निर्माणको प्रगति अवलोकन गर्न कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल र योजना अधिकृत केशव मैनालीले साइटमा अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको थियो।

स्थानीय बासिन्दाहरूले पनि निर्माण कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै सडक पहुँचमा सहजता आउने अपेक्षा गरेका छन्। अबको केही दिनमा कल्भर्ट निर्माण कार्य पूर्ण रूपमा सम्पन्न हुने र यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ।