झापा, बनियानी – निरङ्कुश शासनविरुद्धको साहसिक प्रतिरोध र अद्वितीय बलिदानका प्रतीक सहिद लक्ष्मी पाण्डेको स्मृतिमा १८औं गणतन्त्र दिवसको अवसरमा कचनकवल गाउँपालिका–६, बनियानीमा ‘सहिद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठान’ निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। प्रतिष्ठानको शिलान्यास कार्यक्रम पूर्व प्रदेशसभा सदस्य वसन्त कुमार बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भयो।


कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, प्रतिष्ठान अध्यक्ष तिलबहादुर राई, समाजसेवी कुलबहादुर कार्की, युवा शिक्षाकर्मी खगेन्द्र पाण्डे लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीय जनप्रतिनिधिहरू तथा समाजसेवीहरूले शिलान्याससँगै सहिद पाण्डेको बलिदान र आदर्श भावी पुस्तामा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष भट्टराईले “यो प्रतिष्ठान गाउँपालिकाको गौरवको परियोजना हो, पूर्ण सहयोग रहनेछ,” भनी प्रतिवद्धता जनाए।
वि.सं. २०२२ साल पौष १९ गते ताप्लेजुङको सिनाममा जन्मिएका लक्ष्मी पाण्डे वि.सं. २०३५ मा झापा झरेपछि विद्यार्थी जीवनदेखि नै समाज परिवर्तन र न्यायको पक्षमा संघर्षरत बने। अनेरास्ववियुमा आबद्ध पाण्डे हिमाली माविमा अध्ययनरत रहँदा नै प्रगतिशील आन्दोलनमा होमिएका थिए।
वि.सं. २०४४ साल, भारतको मेघालय राज्यबाट नेपाली मूलका नागरिकहरूलाई अपमानजनक रूपमा लखेटिएको विरोधमा नेपालभरि आन्दोलनको लहर चलेको थियो। यसै क्रममा मंसिर २७ गते झापाको सुरुङ्गामा आयोजना भएको विशाल जनसभामा सहभागिता जनाएका पाण्डे प्रहरीले चलाएको गोलीबाट सहादत प्राप्त गर्न पुगे।
जनप्रेमी नेता कृष्ण योङहाङको हत्याको विरोधमा आयोजित सभामा उनले भनेका शब्दहरू आज पनि जनचेतनाको गुञ्जन बनेका छन् - “न्याय माग्दा गोली दिने शासन कति दिन टिक्ला?”
त्यही दिन, प्रहरीद्वारा महिलामाथि भएको दुव्र्यवहारको साहसिक प्रतिकार गर्दै उनले उच्च स्वरमा भनेका थिए - “महिलामाथि दुव्र्यवहार बन्द गर।” त्यसै वेला चलाइएको गोलीले उनको जीवन त टुंग्यायो, तर प्रतिरोध र न्यायको विचारलाई अमर बनायो। प्रत्यक्षदर्शी लत्ता प्रसाईका अनुसार पाण्डेको अन्तिम वाक्य थियो — “देश तपाईँहरूको जिम्मा भयो साथीहरू।”
कार्यक्रमका प्रमुख अतिथि वसन्त बानियाँले भने, “सहिद लक्ष्मी पाण्डेले देखाएको बाटो हामी सबैका लागि प्रेरणा हो। यो प्रतिष्ठानले केवल इतिहासको संरक्षण होइन, भावी पुस्तामा चेतना र संघर्षको भावना रोप्नेछ।”
सहिदका परिवारजनको सम्मानसहित कार्यक्रम सम्पन्न भएको थियो। प्रतिष्ठान नवनिर्माणले सहिद लक्ष्मी पाण्डेको स्मृतिलाई भौतिक संरचना मात्र होइन, न्याय, समता र प्रतिरोधको प्रतीकका रूपमा संस्थागत गर्ने विश्वास गरिएको छ।
सहिद लक्ष्मी पाण्डे स्मृति प्रतिष्ठान केवल ईँट र ढुंगाले बनेको भवन होइन। यो जनचेतनाको दीप, इतिहासको घोत्लाइ र भविष्यको सम्भावनाको उज्यालो हो – जहाँबाट हरेक पुस्ताले प्रतिरोध, साहस र न्यायको पाठ सिक्नेछन्।