काठमाडौँ - ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा आवश्यकताअनुसारको विद्युत् आपूर्ति भइरहेको स्पष्ट पारेका छन्। आइतवार साँझ कुलेश्वरस्थित ‘नो लाइट’ शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्ति समस्या र उपभोक्ताको गुनासोबारे जानकारी लिएको उनले बताए।


सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री खड्काले हाल देखिएका विद्युत् अवरोध विद्युत् अभावका कारण नभई प्राकृतिक विपद्—जस्तै हावाहुरी र चट्याङ—का कारण भएको बताए। “बत्ती गइरहेको कुरा विद्युत् कम भएर होइन,” मन्त्री खड्काले भने, “हामी उपभोक्ताले सुरक्षित र भरपर्दो सेवा पाउन सकून् भन्ने लक्ष्यका साथ काम गरिरहेका छौँ।”
उनले हाल नेपालले विद्युत् आयात गर्न नपरेको उल्लेख गर्दै देशमै उत्पादन भएको विद्युत् आवश्यकताभन्दा बढी रहेको दाबी गरे। “विगतको तुलनामा अहिले राम्रोसँग आपूर्ति भइरहेको छ, कृपया हल्लाको पछि नलाग्नुस्,” उनले आग्रह गरे।
मन्त्री खड्काले विद्युत् नजाँदै ‘बत्ती गयो’ भन्दै झुटो सूचना फैलाउनेहरूविरुद्ध कारबाही गरिने चेतावनीसमेत दिए। “नो लाइट शाखामा विद्युत् आपूर्ति भइरहेको बेला पनि बत्ती गइसकेको भन्दै फोन आउने गरेको छ, क्रस चेक गर्दा बत्ती रहेको पाइएको छ,” उनले बताए।
आतंक सिर्जना गर्ने उद्देश्यले झुटा गुनासो गर्नेहरूको नम्बर प्रहरीलाई दिन आग्रह गर्दै उनले बजार मूल्य पनि आवश्यकताको आधारमा निर्धारण हुने जानकारी दिए।
सरकार उपभोक्तालाई विश्वसनीय र सुरक्षित सेवा दिन प्रतिबद्ध रहेको मन्त्री खड्काको भनाइ छ।