बनियानी । नेपाल जेसीज अन्तर्गत क्रियाशील कचनकवल जेसिजले आफ्नो नयाँ सचिवालयको उद्घाटन तथा नेपाल राष्ट्रको झण्डा उत्तोलन कार्यक्रम एक भव्य समारोहकाबीच सम्पन्न गरेको छ। 

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा शाखा अध्यक्ष निर्मल दाहालले उद्घाटन मन्तव्य राख्दै नेपाल जेसिजको इतिहास, उद्देश्य र सामाजिक योगदानका विषयमा प्रकाश पारे।  उनले भने, "नेपाल जेसिज एउटा यस्तो संस्था हो जसले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व विकास, सामुदायिक सेवा, व्यवसायिक सीप तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको अवसर प्रदान गर्छ।" 

सचिवालयको औपचारिक उद्घाटनपछि झण्डा उत्तोलन गरिएको थियो, जसले राष्ट्रियताको भावनालाई थप बलियो बनाएको सहभागिहरूले बताएका छन्। 

यस अवसरमा नवप्रवेशी सदस्यहरूलाई स्वागत गरिनुका साथै आगामी कार्ययोजना पनि सार्वजनिक गरिएको थियो।  कार्यक्रमको संयोजन महासचिव आशिष वाग्लेले गरेका थिए। 

कचनकवल जेसिजले यसअघि पनि विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।  गत माघ १३ गते सम्पन्न तेस्रो पद हस्तान्तरण तथा नागरिक अभिनन्दन कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो।  त्यस अवसरमा नवगठित कार्यसमितिले शपथ ग्रहण गरेको थियो, जसमा अध्यक्ष निर्मल दाहाल, महासचिव आशिष वाग्ले, कार्यकारिणी उपाध्यक्षहरू नवराज ढुंगाना र उषाकिरण लम्साल, उपाध्यक्षहरू दिनेश चौधरी, प्रजापति (नवीन) मैनाली, प्रतीक्षा कार्की, र उत्तम गौतम रहेका छन्।  

कचनकवल जेसिजले नेपाल जेसिजको ४९औं राष्ट्रिय महाधिवेशनबाट स्थायी मान्यता प्राप्त गरेको छ।  विरगञ्जमा सम्पन्न उक्त महाधिवेशनमा कचनकवल जेसिजलाई शाखाका रूपमा स्थायी मान्यता दिइएको हो।  

कचनकवल जेसिजको सचिवालय उद्घाटन तथा राष्ट्रिय झण्डा उत्तोलन कार्यक्रमले स्थानीय युवाहरूमा राष्ट्रियता, नेतृत्व विकास र सामाजिक सेवाप्रतिको प्रतिबद्धता बढाउने विश्वास गरिएको छ।