झापा, बैशाख १९। झापा जिल्ला कचनकवल गाउँपालिका-२ नयाँ बजार निवासी १६ वर्षीय नगेन्द्र राजवंशीको आत्महत्या प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।

आज बिहान ११:३० बजे आफ्नै घरको कोठामा काठको बिममा गम्छाको पासो लगाई झुन्डिएको अवस्थामा नगेन्द्रलाई उनकी दिदी दमन्ती राजवंशीले फेला पारेकी थिइन्। तत्काल पासो खोली उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

प्रहरीका अनुसार नगेन्द्रको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्थामै अस्पताल पुर्‍याइएको थियो। अस्पताल प्रशासनले दिउँसो १२:२० बजे नगेन्द्रको मृत्यु भइसकेको जानकारी दिएको छ।

घटनाबारे प्रहरी चौकी पथरिया, झापाले बिहान ११:३४ बजे टेलिफोनमार्फत जानकारी प्राप्त गरेको थियो। तत्पश्चात ११:३५ बजे प्रहरी सहायक निरीक्षक हरिभक्त श्रेष्ठको नेतृत्वमा टोली खटिएको र घटनास्थल सुरक्षित गरिएको बताइएको छ। घटनास्थल प्रहरी चौकी पथरियाबाट करिब १.५ किलोमिटर पूर्वमा पर्छ।सम्पन्न एसईई परीक्षामा उनी पथरिया माध्यमिक विद्यालयका विद्यार्थी थिए र लक्ष्मी मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।