काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा ०५५ चैत ५ गते भएको दर्दनाक घटनाले आज २० वर्ष पूरा गरेको छ। तत्कालीन सत्ताले ‘दोहोरो भिडन्त’ को नाममा प्रचार गरे पनि यो घटनाले एउटा नयाँ प्रयोग देखायो-जनमुक्तिको गीत गाउने कलाकारहरूको नाजीशैलीमा गरिएको हत्या।
त्यो रात अनेकोटमा भएका सात जना कलाकारहरू-च्याङ्वा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, डम्बर श्रेष्ठ र मञ्जु कुँवर-माथि अमानवीय आक्रमण भयो। उनीहरू रहेको घरलाई आगो लगाइयो, चारैतिरबाट अन्धाधुन्ध गोली बर्षाइयो, आत्मसमर्पणका लागि आदेश दिइयो। तर, कलाकारहरूले जीवनको भीख मागेनन्, आत्मसमर्पण अस्वीकार गरे। जीवनभन्दा विचार, आस्था र निष्ठालाई महत्त्व दिएर प्रतिरोध गरे।
सत्ताले गीत गाउने गिटार, बाँसुरी, मादल, हार्मोनियमलाई ‘आतङ्ककारी’ नारा ठानेर विध्वंशक हतियार देख्यो। खेतमा मेलापात गर्ने सर्वसाधारणमाथि समेत कुटोकोदालो, हँसिया, नाम्लोलाई हतियारको रूपमा प्रयोग गरिएको आरोप लगाएर हत्या गरियो।
जनयुद्धको बलिदानले राजतन्त्रको अन्त्य गर्यो, गणतन्त्रको स्थापनासँगै व्यवस्थागत परिवर्तन भयो। तर, अनेकोटकाण्डका शहीदहरूको बलिदानले कल्पेको समान अवसर, न्याय, समानताको सपना अझै अधुरै छ। हिजो एउटै सपथ खाएका, एउटै उद्देश्य राखेका कतिपय योद्धाहरू आज वर्गीय रूपमा उन्नति गरेका छन्, पद-प्रतिष्ठा र भौतिक सुविधाका पछि दौडिरहेका छन्।
पूर्व माओवादी नेतृत्वले अनेकोटकाण्डलाई ‘साँस्कृतिक प्रतिरोध दिवस’ को रूपमा मनाउने निर्णय गरेको थियो। तर, अहिले त्यो कर्मकाण्डी रूपमा मात्र सीमित हुँदै गयो, पछिल्लो समय त हराउनै थालेको छ। जसको बलिदानले गणतन्त्र ल्यायो, तिनलाई नै भुल्न थालेको अहिलेको समाजप्रति गम्भीर प्रश्न उठ्छ।
राजनीतिक प्रणालीमा परिवर्तन आए पनि साँस्कृतिक रूपान्तरण हुन सकेन। बरु, त्यही रूपान्तरण अझ विकृत बन्दै गएको अनुभूति भइरहेको छ। अनेकोट काण्डका शहीदहरूको योगदानलाई सम्मान गर्न नसके पनि कम्तीमा उनीहरूको बलिदान गिज्याउने काम नगरौँ। अनेकोटमा ज्यान दिने ‘संदिग्ध आतङ्ककारी’ कलाकारहरूलाई सम्मानपूर्वक सलाम!




















