काठमाण्डौ । अन्तर–व्यवस्थापिका संघ (आइपीयू) महासभामा सहभागी हुन राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेतृत्वमा स्वीट्जरल्याण्ड पुगेका नेपाली र चिनियाँ प्रतिनिधि मण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको टोलीबीच मंगलबार जेनेभामा भेटवार्ता भएको दाहालको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास तथा अनुभव आदान-प्रदान र अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्यका विषयमा छलफल भएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
त्यस क्रममा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताएका थिए ।
दुई देशबीच राजनीतिक मात्र नभई जनस्तरमै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको उनको भनाइ थियो । सन् २०२२ मा चिनियाँ जनकँग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गर्दै अध्यक्ष दाहालले दुई देशबीचको संसदको सहकार्यले एक अर्काका अनुभव आदान-प्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसरसमेत मिल्ने औंल्याए ।
नेपालको विकासमा चीनको सहयोग रहँदै आएको भन्दै दाहालले आगामी दिनमा अझै थप सहयोग प्राप्त हुने विश्वास लिएको बताए । नेपालले आगामी सन् २०२६ मा कम विकसित मुुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको र उक्त लक्ष्यलाई दिगो , अपरिवर्तनीय र सहज बनाउन मित्र राष्ट्रहरुको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको रहेको भन्दै त्यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने विश्वास नेपालले लिएको उनले उल्लेख गरे ।
दुई देशबीच आपसी हितका विषयहरुमा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेकोसमेत स्पष्ट गरे ।
सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनकँग्रेस र नेपालको संसदसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूहमार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताए ।
दुई देशका संसदबीचको सहकार्य, भ्रमण आदान प्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने उनले बताए ।
चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै उपाध्यक्ष थ्यानले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) मार्फत् सडक ,रेल्वे लगायतका पूर्वाधार विकासका योजनाहरुमा सहयोग गर्न चाहेको उल्लेख गरे । भेटमा दुवै देशका प्रतिनिधिमण्डलमा सहभागी सांसद तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।