झापा।कचनकवलमा बर्षा बढेसँगै झापाको कचनकवल गाउँपालिका भित्रको १,४ र ५ नम्बर वडा बाढीको उच्च जोखिममा रहेको  विपद् व्यवस्थापन समितिको बैठकले छलफलको एजेन्डा बनाएको छ।

कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी सहित गाउँपालिकाको सभा हलमा विपद व्यवस्थापन सम्बन्धी छलफल गर्न सरोकारावाला निकायका प्रतिनिधिको सँयुक्त  बैठक बसेको हो । 

बिपदको पूर्व तयारीका साथै बिपद पश्चातको उद्धार र राहतको बिषयमा छलफल केन्द्रित गर्दै नागरिकको जीउधनको सुरक्षा, विपदको सामना कसरी गर्ने, क्षति न्यूनीकरणका विषयमा छलफल केन्द्रित गर्दै बिपद पश्चात् नागरिकलाई राहत वितरणका समन्दर्भमा समेत छलफल भएको थियोे ।

कचनकवल गाउँपालिका भित्रका प्रमुख तीन ओटा वडाहरु मुख्य जोखिममा रहेकोले गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले डुबान र बाढीको उच्च जोखिम भएका बाढी प्रभावित क्षेत्र पहिचान गर्ने र एकद्वार प्रणालीबाट राहत वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बिपद सम्बन्धि छलफलमा कचनवल-१ का वडाध्यक्ष महावीर लिम्बू, ५ का वडाध्यक्ष नूर आलम, ४ का कार्यवाहक वडाध्यक्ष मुस्तकोमा मियाँ, ६ का वडाध्यक्ष चिन्तामणि खरेल, ३ का वडाध्यक्ष ग्याँस अजमल मियाँ, ७ का वडाध्यक्ष भारत राजवंशी, नेपाल रेडक्रस सोसाइटी कचनकवल ४ का सभापति हारुन रसिद, बिओपी केचनाका सशस्त्र प्रहरी निरीक्षक केशवशरण मैनाली, इलाका प्रहरी कार्यालय बनियानीका दिवस कुमार कार्की सहित प्रहरी चौकी पथरिया, इलाका प्रहरी कार्यालय केचना,प्रहरी चौकी पाठामारी र प्रहरी चौकी घेराबारीका प्रतिनिधिको उपस्थिति रहेको सँयुक्त छलफलमा विपद् व्यवस्थापनका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

उक्त सँयुक्त छलफलमा सम्बन्धित वडाले मातहतमा पर्ने प्रहरी चौकी वा बिओपी सहित सरोकारवाला पक्षहरूसँगको बैठक बसी सम्बन्धित वडाले निर्णय गाउँपालिकामा पठाउने र पालिकाबाट विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने लाइफ ज्याकेट, टर्चलाइट, फरुवा, ट्युब लगायतका सामग्री सुरक्षा निकायलाई उपलब्ध गराउने निष्कर्ष निकालेको छ ।