कचनकवल। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज कचनकवलका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाउदै छन् । रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने प्रचलन छ ।
कचनकवलको बडझोडा पुलस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीहरु सहित गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीको उपस्थिति रहेको थियोे ।नमाज पढिसकेपछि एक आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।महिलाहरुले भने घरमै नमाज पढ्ने गर्छन् ।
हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
बकर इदको समयमा जीवनको एक पटक मक्का मदिना हज गर्न जानु पुण्य प्राप्ति हुने विश्वास छ ।त्यहाँ जान नपाउनेले भने घरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिन्छन् । कुर्बानी गरिएको पशुको मासुलाई तीन भागमा बाड्नु पर्ने धार्मिक मान्यता छ ।
मुस्लिम धर्मावलम्बीले आगामी बुधबारसम्म तीन दिन यो पर्व मनाउने छन् ।पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।