भद्रपुर । झापाको भद्रपुरमा नमुना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) आजदेखि हुने भएको छ । भद्रपुर युवा परिषद्को आयोजनामा मेची बहुमुखी क्याम्पसमा बैशाख ३० गतेदेखि जेठ २ गतेसम्म नमुना संयुक्त राष्ट्र संघको अभ्यास हुन लागेको हो । नगरपालिकाको सभा हलमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नमुना संयुक्त राष्ट्र संघको अभ्यास बारे जानकारी गराइएको हो ।
युवाहरूको नेतृत्व विकास टेवा पुर्याउने उद्देश्यले ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’को आयोजना हुन लागेको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिए । ‘हामीले मेची बहुमुखी क्याम्ससँगको सहकार्यमा कार्यक्रम गर्न लागेका छौँ’, उनले भने, ‘यो चार दिनसम्म सञ्चालन हुनेछ ।’ बिहान रजिस्ट्रेसन र ओरेन्टेशन पछि आइतबार दिउँसो २ बजे कार्यक्रम उद्घाटन हुने उनले बताए ।
नमुना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका नगरका १५० जना युवा सहभागी हुने छन् । जसमध्ये १३० जना कार्यक्रममा सहभागी हुनेछन् भने २० जना स्वयंसेवक हुनेछन् । मेची बहुमुखी क्याम्पस, वीरेन्द्र मावि र अनलाइन आवेदनको माध्यमबाट सहभागी छनोट गरिएको जनाएको छ । सबै कार्यक्रम अङ्ग्रेजी भाषामा हुने भएकाले सहभागी सोही अनुसार छनोट गरिएको आयोजकले जनाएको छ ।
युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकास, संयुक्त राष्टसंघको कार्य, भूमिका, महासभाको अभ्यास गर्न, अन्तर्राष्ट्रिय सवालहरूमा पैरवी गर्न, दिगो विकास लक्ष्यबारे बहस गर्न, मानव अधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको नगर युवा परिषद् कार्यकारी अध्यक्ष सरोज ढकालले जानकारी दिए । उनले नगरमा रहेका करिब २९ हजार युवाहरूलाई क्रमशः यस प्रकारका कार्यक्रम गरी प्रशिक्षित गर्दै जाने बताए । कार्यक्रममा प्रशिक्षक डा. एकराज दाहालले स्थानीय तहबाट सम्भवतः यस प्रकारको कार्यक्रम पहिलो भएको बताए । कार्यक्रममा भद्रपुर नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतको आतिथ्य रहेको थियो ।