कचनकवल।शैक्षिक क्षेत्र सुधार रणनीति निर्माणका लागि कचनकवल गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक र सरोकारवालाहरुको उपस्थितिमा पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाबाट समग्र ३० वटै विद्यालयको अवस्था र समस्याका बारेमा शिक्षकहरुले विवरण पेश गर्नुका साथै आगामी वर्षमा शैक्षिक सुधारका लागि रचनात्मक सुझाव समेत दिनुभएको थियो ।

कचनकवल गाउँपालिकाले पदभार ग्रहणको दोस्रो वर्षको कार्यकालमा शैक्षिक क्षेत्रमा तत्काल सुधारका लागि नयाँ शैक्षिक वर्षको कार्ययोजना निर्माणलाई मूर्तरुप दिन तथा समग्र शैक्षिक गुणस्तर कायम गर्न उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी तथा उपाध्यक्ष नवराज भट्टराईले जनप्रतिनिधिहरुको कार्यकाल ५ वर्षको मात्र भएपनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएकाले आफ्नो गाउँघरलाई योगदान गर्ने कार्यमा शिक्षकहरु पनि उत्तिकै जिम्मेवार भएको कुरा बताउनु भयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले विकासको पक्ष भौतिक विकास र मानव विकास भएकोले भौतिक विकास भन्दा पनि मानव विकास अझ महत्वपूर्ण भएकाले आफ्नो कार्यकालमा मानव विकासलाई अझ बढी जोड दिइने बताउनु भयो । मानव विकास भयो भने भौतिक विकास स्वतः हुने र भौतिक विकासबाट पनि मानव विकासमा टेवा पुग्ने भएकाले यी दुवै विकासलाई सन्तुलित गरेमा समृद्धिको सपना साकार पार्न धेरै टाढा नरहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयो- "शिक्षा क्षेत्र बहुआयामिक र बहुपक्ष समेट्ने क्षेत्र भएकाले मानिसको चेतना देखि बानी व्यवहारसम्ममा प्रभाव पार्ने भएकाले यो निरन्तर प्रक्रिया हो । यसर्थ, शैक्षिक क्षेत्रको सुधार प्रक्रिया पनि एक पटक गरेर नपुग्ने भएकाले योजना बनाएर निरन्तर कार्यान्वयन गर्नुपर्छ । यसको योजना निर्माणदेखि कार्यान्वयन हुँदै प्रतिफल प्राप्त गर्ने स्थानमा समेत शिक्षकहरु हुने भएकाले दृढ भिजनयुक्त क्षमता र नैतिकताले भरिपूर्ण शिक्षक तथा प्रधानाध्यापक र अनुशासित विद्यार्थी भएमा शिक्षा क्षेत्र गुणस्तरीय हुने कुरामा कुनै शंका छैन ।" उहाँले गाउँपालिकाभरका विद्यालयहरुमा यथाशीघ्र प्रविधिमा आधारित शिक्षालाई जोड दिइने र सोको गृहकार्य गाउँपालिकाले गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

उपाध्यक्ष नवराज भट्टराईले आगामी दिनमा कार्ययोजनालाई मूर्तरुप दिन तथा विद्यालय क्षेत्र तत्काल सुधार गर्न तथा कार्यान्वयन गर्न सबै पक्षको सल्लाह र सुझावको लागि अनुरोध गर्दै सुझाव संकलनलाई थप प्रभावकारी बनाउन भैरव प्रसाद सिह राजवँशीको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ ।कचनकवल गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद विकास शाखाको आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई र विज्ञ बद्री कार्कीको सहजीकरणमा भएको कार्यक्रमको सञ्चालन सुनिता दाहालले गर्दै गाउँपालिका शिक्षा शाखा प्रमुख मनिता बरालले प्रस्ताव पेश गर्नुभएको थियो ।