कचनकवल । नेपालकै होचो भूभागमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दक्षिणी झापाको कचनकवल गाउँपालिका वडा नंं ६ स्थित विद्या निकेतन सेकेण्डरी स्कुलले हिजो सरस्वती पूजाको अवसरमा चिल्ड्रेन पार्कको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा विद्यालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरूको प्रमुख रोजाई बन्न सफल यस विद्यालयमा बालमैत्री एवम् प्रविधिमैत्री रुपमा पठनपाठन सञ्चालन हुँदै आइरहेको छ ।
विद्यार्थीको पढाई सँगै उनीहरूको चौतर्फी विकासका लागि समय सापेक्ष विभिन्न रचनात्मक एवम् मनोरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको उक्त विद्यालयका प्रिन्सिपल गोविन्द राजवंशीले बताउनु भयो ।
नवनिर्मित पार्कमा बालबालिकाका लागि विभिन्न प्रकारका खेलकुद सामग्रीहरू राखिनुका साथै पार्कको वरिपरि भित्तामा ABCD, 1234, क ख, A for Apple, विभिन्न कार्टुनहरु तथा ग्रह मण्डलका आकृतिहरू बनाइएको छ । उक्त पार्कको भित्तामा हलो, जुवा, महला, डोको, जाँतो जस्ता लोपोन्मुख कृषि सामग्री समेत राखिएको छ ।
हिजो सरस्वती पूजाको अवसरमा उक्त विद्यालयमा "निःशुल्क अक्षरारम्भ" कार्यक्रम समेत आयोजना गरिएको थियो । विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई विभिन्न प्रविधिका क्षेत्रमा समेत अब्बल बनाउनु वर्तमान समयको माग रहेको उक्त विद्यालयका एकेडेमिक कोअर्डिनेटर प्रदीप थापाले बताउनुभयो ।