--फणीन्द्र नेपाल 

२००७ साल कात्तिक ४ गते त्रिभुवन नेपाल फर्किँदा इन्डियाली प्रधानमन्त्री जबाहरलाल नेहरू र सरदार बल्लभ भाइ पटेलको योजनाअनुसार विभिन्न जात र पेसाका १०० इन्डियाली परिवारमध्ये केही परिवार त्रिभुवनसँगै र अरूचाहिँ केही दिनको फरकमा काठमाडौँ उत्रिएका थिए । उनीहरूलाई नेपालमा बसेर कारोबार गर्न पर्याप्त पैसाको व्यवस्था इन्डिया सरकारले नै गरिदिएको थियो । यो उनीहरूको देखावटी काम थियो भने उनीहरूलाई खटाइएको काम अर्कै थियो ।

(राजा त्रिभुवनलाई दिल्ली पुर्‍याइएपछि नारायण हिटी राजदरबारमा राजगद्दी खालि भयो । यही मौका छोपेर कश्मीरका राजा हरिसिंहले कश्मीर इन्डियामा मिलाउन हस्ताक्षर गरेजस्तै कुनै तरिकाले राजा त्रिभुवनलाई पनि नेपाललाई इन्डियामा मिलाउन हस्ताक्षर गराउने नेहरू-पटेलको योजना थियो तर मोहन शम्शेरले राजगद्दी खालि नराख्ने भन्दै दिल्ली जान छुटेका बालक अधिराजकुमार ज्ञानेन्द्रलाई राजगद्दीमा राखिदिए । राणा सरकारको चाल बुझेका नेहरू-पटेलले नयाँ राजालाई मान्यता दिन अस्वीकार गरे, तर ब्रिटेनले राणाको कदमलाई मान्यता दियो । यसबाट इन्डिया रक्षात्मक अवस्थामा पुग्यो , अनि उसले  राणा , काँग्रेस र राजा त्रिभुवनबीच मध्यस्थता गरेर दिल्ली सम्झौता गरायो , जसअनुसार त्रिभुवन इन्डियाको हात आफ्नो टाउकामा राखेर काठमाडौँ फर्किए ।)

राजा त्रिभुवनको अघिपछि लागेर आएका इन्डियालीहरूको एउटा काम दिनदिनैका खबर हुलाकमार्फत दिल्ली पठाउनु थियो भने अर्को काम यहाँ बसेर नेपालीहरूलाई बिस्तारै नजानिदो पाराले इन्डियापरस्त बनाउनु थियो । महाभारत युद्धको पूर्व सन्ध्यामा भानिजहरूलाई सहायता गर्न आएका राजा शल्य झुक्किएर दुर्योधनको स्वागत कक्षमा पुगेर सत्कार ग्रहण गरिसकेपछि युधिष्ठिरले मामा शल्यलाई ऐनमौकामा पाण्डवको शक्तिको बखान गर्दै दुर्योधनको तेजोबध गरिदिनुहोस् भनेअनुसार गरे झैँ यी १०० परिवारका मूलीहरूले नेपालीलाई `हमारा भारत महान्' भन्ने मनोवैज्ञानिक पाठ पढाए । नेपालीहरूलाई नेपालभन्दा ठूलो र शक्तिशाली भएकाले इन्डियालाई मान्नुपर्छ भन्ने मानसिक दबाब त्यति बेलादेखि नै परेको हो । सँगसँगै यिनीहरूले धार्मिक-सांस्कृतिक र रोटी-बेटीका कुरा गरेर इन्डिया र नेपाल भिन्न मुलुक होइनन् भन्ने गलत भाष्यको पनि निर्माण गरे । 

(# यस कथ्यको स्रोतव्यक्ति `रत्नश्री' साहित्यिक मासिकका प्रधान सम्पादक मदनदेव भट्टराई हुनुहुन्थ्यो ।)