आर.के.बुढाथोकी । वर्तमान लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरि जनताको अभिमतबाट झापा क्षेत्र नँ.३ को समग्र विकास र सम्बृद्धिका लागि चुनाव जितेर गएका सच्चा जनप्रतिनिधिले चुनावी क्षेत्रका जनताको चाहना र आवश्यकता अनुसार आफ्नो कार्यकालमा दीर्घकालीन योजनाहरु ल्याउन नसकेपनि पुराना बहुवर्षीय योजनाहरुको निरन्तरताका लागि रचनात्मक सल्लाह र खबरदारी गर्नुपर्नेमा मृत राजसंस्थाको हड्डी फुकेर बंश परम्पराको उत्तराधिकारी र राजतन्त्रको भक्तिगान गाउनु निर्वाचनको समयमा मतदातालाई रिझाउन बोलेको प्रतिबद्धता बिपरित कार्य भयो।
झापा क्षेत्र नँ. ३ का मतदाताले राजतन्त्रको पक्षपोषण र स्तुतिगानको लागि होइन इमानदार नेतृत्वले समग्र क्षेत्रको विकास र सम्बृद्धि सम्झेर निर्वाचित गरेका थिए । क्षेत्रको विकास र सम्बृद्धिका लागि दुई कार्यकाल निरन्तर निर्वाचित गरेर पठाएको जनप्रतिनिधिले यही प्रणालीमा रहेर राज्यको सरकारी सेवा सुविधा नछाडी राजतन्त्रको भजन गाउँदा क्षेत्रको विकास र सम्बृद्धिको ढोका खुल्दैन । राजतन्त्रको भजन गाउनु भन्दा आफ्नो क्षेत्रका मतदाताका कलिला बच्चा पढ्ने अरनिको माध्यमिक विद्यालयको भवन ,भद्रपुर नगरको ब्यवसायिक प्रदेशकै गौरवको योजना जि.पि. स्मृति भवन ,क्षेत्रभरका नागरिकलाई सदरमुकामसँग जोड्ने एकमात्र चाराली-केचना कालोपत्रेको थुप्रै ठाउँको अधुरो काम ,रातभर जागै बस्नुपर्ने स्थानीय तह भद्रपुर,कचनकवल,बाह्रदशी र हल्दिवारीका जनताको भौतिक र मानवीय सुरक्षाका लागि जलथल जँगल हात्ती तारवार मर्मतसम्भारका लागि बजेट प्रबन्ध ,बर्षा लागेसँगै डुङ्गामा कठिन यात्रा गरिरहेका नागरिकको सहजताका लागि पाठामारी स्थित मेची नदि झोलुङ्गे पुल निर्माण ,जग्गाधनीपुर्जा हातमा जमिन भारतमा भएका महेशपुर/पाठामारीका नागरिकका पीडा ,कृषिमा आधुनीकिकरण र ब्यवसायीकरणका लागि प्रधानमन्त्री धान सुपर जोन कार्यक्रम ,एउटै पालिकाको दुर्गम गाउँका नागरिकलाई आफ्नो मुकामसँग जोड्ने पिण्डलवारी स्थित बिरीङ नदि झोलुङ्गे पुल निर्माणकार्यमा बदमासी र ढिलासुस्ती गर्ने निर्माण कम्पनी र समयमा बजेट प्रबन्ध नगर्ने सरकारलाई निर्वाचित साँसदले साच्चिकै नागरिकको स्वार्थका लागि नेतृत्व भएको भए सदनमा आवाज नउठाएर सस्तो लोकप्रियताका लागि आफ्नै क्षेत्रका जनताको पीडा,ब्यथा भुलेर देशका विभिन्न सडकमा आफ्ना कार्यकर्ता जम्मा पारेर हामीले मात्रै देशमा दीगो शान्ति र सम्बृद्धि स्थापना सम्भव छ भन्दै राजतन्त्रको भजन गाउँनुस भन्ने आशा र विश्वासले यस क्षेत्रका जनताले पटक्कै मत दिएका होइनन् ।
तत्कालीन बन्द समाजमा हाम्रा पुर्खाहरुले निरंकुश राजतन्त्रलाई बाध्यताले स्वीकारे ,चेतनाको अभाव ,चरम गरिबी ,बिज्ञान प्रविधिको विकास नभएको अन्धकारको युगमा शासकलाई भगवानको अवतारको रुपमा परिभाषित गरेर धर्मप्रतिको मानिसको आस्थालाई दुरुपयोग गर्दै आफ्नो मालिकको अधिनायकत्व टिकाउन दरबारिया
षडयन्त्रकारी गिरोहका दास मतियारहरु गणतन्त्रमा समेत सक्रिय रहेकै कारणले आज बदनाम कमाईरहेको छ । कोही मानिस कुनै सत्कर्म नगरी जन्मकै आधारमा स्वतः शासनसत्तामा बस्न पाउने ,अरुले भने यथेष्ट क्षमता र योग्यता हुँदाहुदै पनि त्यही नालायक शासकलाई मान्नुपर्ने असमान र अलोकतान्त्रिक ब्यवहारलाई नमान्ने भएर नै दश बर्षे जनयुद्ध ,जनआन्दोलन र विभिन्न चौकमा भएको आन्दोलनमा जनताकै अभुतपुर्व बलिदानी यही क्षेत्रका नागरिकले गरेको होइन ? त्यही मानिसले मात्र राजतन्त्र स्वीकार र वकालत गर्दछ-जोसँग उच्च चेतनास्तर छैन र ऊ दासत्वमै रम्न ,रमाउन चाहन्छ। प्रजातन्त्र,लोकतन्त्रमा जनताले रोजेका ,चुनेका जनप्रतिनिधिले आवधिक शासन सञ्चालन गर्दछन्।एक पटक सत्तामा पुगेपछि पैतृक सम्पत्ति जस्तैगरी सत्ता प्राप्त भइरहने बंश परम्परा भयो भने शासक जतिसुकै निरंकुश ,अधिनायकवादी भएपनि फेर्न कठिन हुन्छ ।
जनताले त्यस्ता तानाशाहीका बिरुद्ध कठोर संघर्षहरु गर्नु परेका कयौं र सयौं उदाहरणहरु छन् । शासकको बच्चालाई जन्मदै सुयोग्य मान्नुपर्ने अन्य नागरिकसँग जति नै ज्ञान र सीप भएपनि तिनैको कारिन्दा बन्नुपर्ने कुरालाई ठीक हो ,हामी यस्तै बन्छौं ,यस्तै मान्छौं ,यही ठीक हो भन्ने दासहरुको दरिद्र सोचलाई दया गर्नुभन्दा अरु के नै गर्न सकिन्छ ? जनताका छोराछोरीले जनअधिकारका लागि लड्ने ,जिन्दावाद भन्ने हो । राजाको अधिकारका लागि त तिनकै हुक्के ,चम्चे दासले बोल्ने हो । जसलाई आफू सार्वभौम हुन पाएकोमा गर्व छैन र सामन्ती राजतन्त्रको दास बनिरहन पाऊँ भन्छ भने तिनको चेतनास्तरमाथि दया गर्नु शिवाय अरु के गर्न सकिन्छ ?सामन्तको बासीभात-जुठोपुरो खाएका दलालको मति र गति नै यस्तै हुने हो । राजतन्त्र ,कुलिनतन्त्र भनेका सामन्तवादका नाइके हुन्।सामन्तवादले मानवीय मूल्य र मान्यतालाई समानताका आधारमा स्वीकार गर्दैन बरु आफ्नो स्वार्थका लागि शक्ति र सत्तामा पुग्न राजनीतिक चुनावमा साँठगाठ गर्दै छेपारो झै रङ्ग र भेष बदल्न कत्तिपनि घिनाउदैन ।
हात्तीको देखाउने र चपाउने दाँत फरक भएझैं उनीहरुको भाषा ,शैली ,उठबस ,बोली-ब्यवहार आम मानिसहरुकाप्रति समान हुँदैन बरु जनताको भावनात्मक ब्ल्याक मेलिङका लागि जस्तोसुकै स्टन्टबाजी गर्न पछि पर्दैनन् । मानिस र मानिसकै बीचमा उच र नीचको चरम बिभेद हुन्छ । यस्तो असमान र अपमानजनक कुरालाई स्वीकार गर्ने तर निर्वाचनमार्फत आम जनताका छोरा-छोरीले आफैं शासनसत्ताको सर्वोच्च स्थानमा पुग्न पाउने अवस्था र ब्यवस्थालाई सदुपयोग गर्न नचाहनेहरुलाई सँधै दासत्व नै सर्वोपरि हो भन्ने लागिरहन्छ र तिनीहरु आफूमाथि कुनै अमुक शासकले सँधै शासन गरिरहोस् भन्ने चाहन्छन्। त्यस्ताहरु कि त दरबारिया अभिजात्य वर्गद्वारा पालित-पोषित छन् या तिनको उच्चस्तरको चेतनाशक्ति विकास भएकै छैन र तिनीहरु दासत्वमै रमाउन चाहन्छन्।
जनताको अधिकार र आर्थिक समृद्धिका माध्यमबाट राष्ट्रिय एकता र मेलमिलापको वातावरण अहिलेसम्म निर्माण हुन नसक्नुका पछाडिको मुख्य शक्ति भनेकै राजतन्त्रका अवशेषहरुले स्वतन्त्रताको नाममा जनतलाई गुम्राहमा राख्नु हो ।वर्तमान अवस्थामा आम नेपालीको चाहना मजबुत राष्ट्रिय एकता ,सम्बृद्ध समाज निर्माणका लागि अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा लोकतान्त्रिक संस्कृति र समानताको व्यवहार विकास गरेर अगाडि बढाउँदै स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्नुनै अग्रगामी परिवर्तनको लागि हामी सबैको एकमात्र राजनीतिक सहभागिताको असल नेतृत्व बन्ने छ।