विज्ञान प्रविधिले चामत्कारिक विकास गरेको छ । सूचना तथा संचार प्रविधि (ICT) को विकासले त झनै मानव समाजलाई अविश्वसनीय रूपमा परिवर्तन गरेको छ । आज नेपाल जस्तो गरिब देशका अधिकांश घरपरिवारहरूमा वाई-फाई इन्टरनेट सुविधा पुगेको छ । प्राय: प्रत्येकको हातहातमा मोबाईल र इन्टरनेट सुविधा हुनु कुनै अनौठो विषय रहेन अब । बरू मोबाईल र इन्टरनेट सुविधाविहिह्न व्यक्तिहरूको चर्चा हुनु समाजमा स्वाभाविक लाग्न थाल्यो । यो सँगसँगै सफ्टवेयर संसार (Software World) मा एक पछि अर्को आकर्षक एवम् सुविधापयोगी सामाजिक संजाल एप्स (Social Networking Apps) हरूको तिव्र प्रतिस्पर्धात्मक विकासले नेट इन्टरनेट सुविधाको प्रयोग सुनामी वेगमा बढेको सहजै अन्दाज गर्न सकिन्छ । विश्व हत्केलामा सिमित भएको छ जहाँबाट मानवीय काल्पनिक तरङ्गहरू भन्दा द्रुत गतिमा सूचना-सम्पर्क अनि क्रिया-प्रतिक्रियाहरू संप्रेसन गर्न सकिन्छ । सामाजिक संजाल (Social Network) यसको भरपर्दो अत्यन्तै सुविधायुक्त माध्यम बनेको कुरा हामी माझ जगजाहेर छ । यद्यपि, सामाजिक संजालको बढ्दो प्रयोगले हाम्रो जीवनमा सकरात्मक र नकरात्मक दुबै खाले प्रभाव पारिरहेको छ । निःसन्देह सामाजिक संजालले प्रत्येक व्यक्ति, समुदाय, समाज र देशलाई एउटा सुमधुर सम्पर्क सुत्रमा बाँध्ने काम गरेको छ ।राष्ट्रिय अन्तराष्ट्रिय शान्ति सुरक्षा, अमनचयन तथा व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका मात्र निर्वाह गरेको नभई पुँजी र प्रविधिको गतिशिलता, नवप्रवर्तन र आविष्कार, विश्व अर्थतन्त्रको स्थिरता, वृद्धि र विकासमा उल्लेखनीय योगदान पुऱ्याएको छ । अर्कोतिर, सामाजिक संजालले जोडेको रोमियो र जुलियट वा मुना मदनका सम्बन्धहरू सामाजिक संजालले नै वियोगान्त मोडमा तोडेका बल्ग्रेल्ती उदाहरणहरू छरछिमेक गाउँघरहरूमा देख्न सुन्न पाईन्छ । टिनेजर र युवा पुस्ताहरूमा सामाजिक संजालको लत बस्दै गएको छ । सामाजिक संजालको लतले अनावश्यक व्यस्तता, आलस्यता, मन्दता, बौद्धिक दरिद्रता, अश्लिलता, अशिष्टता, असभ्यता जस्ता दर्जनौं दुष्परिणामहरू देखापरिरहेका छन् । परिणामत: आजको अधिकांश युवा पुस्ता फ्रस्टेसन (Frustration), डिप्रेसन (Depression) को शिकार बनेर आत्महत्या गर्न पुग्छन् ।
यस्ता दु:खद घट्नाहरू हाम्रो गाउँघरमा बढ्दै जानुको एक मुख्य कारक तत्व सामाजिक संजाल नै हो भन्दा फरक नपर्ला । सामाजिक संजालले प्रत्येक व्यक्तिको वास्तविक भौतिक सम्बन्ध (Real Physical Relationship) उसको मोबाईल, ट्याब वा ल्यापटपसँग मात्र सीमित गरिदिएको छ । बाँकी व्यक्ति, समुदाय, समाज वा संसारसँगको सम्बन्ध अवास्तविक सम्बन्ध (Virtual Relationship) मात्र हो । अवास्तविक सम्बन्ध (Virtual Relationship) कदापि वास्तविक भौतिक सम्बन्ध (Real Physical Relationship) जस्तो सुमधुर अनि संस्कारी हुन सक्दैन । सायद, हाम्रो समाजमा सामाजिक तथा राजनीतिक संस्कारको खडेरी छाउनु सामाजिक संजालको प्रयोगको अर्को दुष्परिणाम हुनसक्छ । सामाजिक संजालमा संधैभरी झुम्मिनुले आफ्नो आफन्त, साथीभाई, इष्टमित्रबाट टाढा बनाउँदै लान्छ साथै आफ्नो परिवार, समुदाय, संस्कार सँस्कृति, पहिचानसँग आफैंलाई अपरिचित बनाउँछ ।जसले गर्दा हाम्रा सामाजिक संस्कार सँस्कृतिहरू विलोपीकरणको डिलमा पुगेका छन् । सिङ्गो नेपाली समाज कुसंस्कारी र बेगारी बन्दै गएको दु:खद दृष्य हाम्रो अगाडि उभिएको छ ।
सामाजिक संजालको विकास र विस्तारले अहिलेको नयाँ पुस्ता (New Generation) अध्ययन अनुसन्धानबाट बिल्कुल टाढा रहेको छ । अध्ययन अनुसान्धानको अमूल्य समय सामाजिक संजालमा सुम्पेको छ । यो पुस्ताले न त कला साहित्य, इतिहास, अर्थशास्त्र, राजनीतिको अध्ययन गर्छ न त उसलाई सुन्ने फुर्सद नै छ । यो पुस्ताको सोंच चिन्तन, विचार सबै सामाजिक संजालका श्रव्य-दृष्य (Audio video) स्टाटस (Status) हरूले निर्धारण गर्छ र सोहीनुसार आफ्नो कच्चा अराजनीतिक विचारहरू संप्रेसन गर्दा सिङ्गो समाजमा राजनीतिक संस्कारको शून्यताको आभाष हुन्छ । यो युगिन परिवर्तनप्रति चरम वितृष्णा फैलाएर शैशवास्थामा नै ध्वंस (Sabotage) गर्नको लागि वर्तमान व्यवस्था विरोधी प्रतिगामी शक्तिहरूले सामाजिक संजाललाई आफ्नो झुट र भ्रमको खेती गर्ने उर्वर भूमिको रूपमा प्रयोग गरिरहेका छन् । विशेषत भारतीय अतिवादी विस्तारवादी शक्तिको बुई चढेर भारतीय भाडाका टट्टु लेण्डुपे दलालहरू देशमा वितण्डा मचाईरहेका छन्, जातीय तथा धार्मिक युद्ध मचाउन उद्दत छन् । यस्तो राजनीतिक कुसंस्कारी पराकाष्टाको पर्दा पछाडि कुन स्वार्थ लुकेको छ ? सबै सच्चा राष्ट्रवादी नेपाली दाजु-भाई, दिदी बहिनीहरू ! विज्ञान र प्रविधिको सुन्दर सृजना 'सामाजिक संजाल'लाई सामाजिक-राजनीतिक कुसंस्कारी फोहोरको डस्टबिन नबनाऔं, राष्ट्र र राष्ट्रियताको रक्षार्थ पर्दा हटाउने इमानदार प्रयास गरौं !!!!
लेखक :- एन. पि. वनेम वामपन्थी बुद्धिजीवी हुनुन्छ ।