२१औं शताब्दीका मानिस ग्लोबल भिलेजमा बसेका छौं । इन्टरनेटको सञ्जालले आज विश्वजगतमा भएको विकास, घटना, परिघटना आदि इत्यादि एउटा गाउँमा बसेर हेर्न, देख्न, जान्न, बुझ्न सकिने भएको छ । यसरी हेर्दा इन्टरनेटभित्रका सञ्जाल अत्यन्त उपयोगी छन् । ज्ञान र सूचनाका स्रोत भएका छन् । 


नेपालमा सामाजिक संजाल प्रयोगकर्ताको एकिन तथ्यांक नभएपनि युवापुस्ता समाजिक संजालमा नजोडिएको कुरा अपबाद नै हुनेगर्छ । युवा भनेको एक यस्तो शक्तिले भरिएको अवस्था हो जसले राष्ट्रको सामाजिक, आर्थिक र राजनैतिक विकृति सच्याउने वा परिवर्तन गर्ने र नयाँ जोश जाँगरका साथ देशको मुहार फेर्न सक्ने क्षमता राखेका हुन्छन् । 


तर विडम्बना, आफ्ना आफन्त, अग्रज गुरुजन, छर- छिमेकी तथा मान्यजनहरु पनि आफूसँग सामाजिक सञ्जालमा जोडिएको कुरा चट्टै भुलेर आफूलाई मन लागेका, जस्ता प्रकृतिका पनि फोटा, भिडियो, तथा अन्य सामग्रीहरु पोस्ट गर्ने ट्रेण्ड बढिरहेको छ । यसले आफ्नो, आफ्नो परिवारको तथा समग्र समाजको इज्जत, मान एवम् प्रतिष्ठामा दखल पुर्याउने काम गरिरहेको कुरा वास्ता भने गर्दैनन् । सामाजिक सञ्जाल आजको युवा पुस्ताको रुचिको विषय हो । नयाँ पुस्तामा मात्र नभएर यसले विभिन्न उमेर समूहका मानिसलाई आकर्षण गरेको देखिन्छ । बालबालिकाले घरमा धेरैजसो समय इन्टरनेट र फेसबुकमा बिताउने भएकाले उनीहरूको पढाइमा रुचि घट्दै गएको अभिभावकको गुनासो छ । विद्यालय तहदेखि उच्च शिक्षासम्मका शिक्षार्थी, विभिन्न पेसा व्यवसायमा संलग्नहरू, कर्मचारी, व्यापारी, गृहिणीलगायत भिन्न उमेर समूहमा मानिसहरू सामाजिक सञ्जालको प्रयोगमा व्यस्त भएको देखिन्छ । घण्टौंसम्म अनुत्पादक समय खर्च गरेको देखिन्छ । पछिल्लो समयमा फेसबुक, ट्वीटर, इन्स्टाग्राम, भाइबर, ह्वाट्स एप, युट्युब, म्यासेन्जर, स्न्यापच्याटजस्ता सामाजिक सञ्जालमा अनुत्पादक समय बिताउने धेरै छन् ।



 सामाजिक सञ्जालहरुको प्रयोग सकारात्मकताका लागि प्रयोग गर्न जरुरी छ नकि एकअर्कालाई पीडा थप्न । तथापि, आमरूपमा समाजमा डिजिटल कुलतका थुप्रै घटना देखा परेका छन् । मोबाइलबिना बस्नै नसक्ने पनि छन् । लाइक, कमेन्ट वा सेयर गर्नेजस्ता कार्यमा अनुत्पादक लामो समय बिताउने, पढाइ र घरको काम छाडेर भिडियो गेम खेल्ने, सेल्फी खिच्ने, टिकटक बनाउनेजस्ता काममा एडिक भइसकेका धेरै छन् । अधिक सामाजिक सञ्जालमा समय बिताउनेमा विभिन्न समस्या देखिएका छन् । शरीर दुख्ने, आँखा कमजोर हुने, पढाइ वा सिर्जनशील काममा ह्रास आउने, निद्रा नलाग्ने, एक्लै बस्न मन पराउनुका साथै साइबर अपराध, लागुऔषध दुव्र्यसन, डिप्रेसनजस्ता शारीरक एवं मानसिक समस्या दिनानुदिन बढिरहेका छन् ।



त्यसो त हरेक कुराको सकारात्मक र नकारात्कमक पक्ष हुन्छन् । कुन वस्तु कुन हदसम्म कसरी प्रयोग वा उपयोग गर्ने भन्ने विषयले फाइदा वा बेफाइदाको प्रभाव रहन्छ । सोसियल मिडियाको उचित प्रयोगले काफी फाइदा भएको छ । इन्टरनेटको माध्यमबाट अनलाइन पढाइलेखाइ, खोज, अनुसन्धान, व्यापार, भेटघाट, कुराकानी, सुखदुःख आदानप्रदान गर्ने सुविधा भएको छ । देशविदेशमा रहेका आफन्तजन, इष्टमित्र, साथीभाइसँग भेटघाट गराएको छ । तथापि, हाम्रो समाजमा सोसियल मिडियाका थुप्रै नकारात्मक प्रभाव परेका छन् । 



फेसबुक तथा डिजिटल सुविधाको कारण मानिस एक्लो भएका छन् । सोसियल मिडिया प्रयोगकर्ताले मोबाइलमा समय खर्च गरेको, घरपविारसँग कुराकानी, छलफल, दुःखसुख गर्ने संस्कृति हराउँदै गएको, बालबालिकामा घरायसी काममा सहयोग गर्ने रुचि नभएको सामाजिक बुझाइ छ, अनुभव छ र भोगाइ छ । मोबाइलमा रमाउनेहरू गाउँ घर, सहर, बजार, खेत, खला, चिया चौतारीमा घोप्टिएकै देखिन्छ । किशोरकिशोरीलाई कम्प्युटर र यसभित्रका सुविधाको प्रयोग बारे राम्ररी प्रशिक्षण नहुँदा यसको दुरुपयोग भइरहेको छ । इन्टरनेटको उचित प्रयोग गर्न जान्दा यसबाट भरपुर फाइदा लिन सकिनेमा दुईमत छैन । तथापि, नपाउनेले केरा पायो बोक्रैसँग खायो भने झैँ हाम्रो समाजमा सामाजिक सञ्जालको महत्व र यसको उचित प्रयोग गर्न नजान्दा समयको बर्बादीका साथै अनेक प्रकारका दुर्घटना हुने गरेका छन् ।