कचनकवल ।कचनकवल विद्या मन्दिर माध्यमिक विद्यालयद्वारा आयोजित प्रथम कचनकवल गाउँपालिका स्तरीय अन्तर मा.वि. क्रिकेट प्रतियोगिता कचनकवल गाउँपालिका प्रमुख कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यता, कोशी प्रदेश क्षेत्र नं ३'क' निवर्तमान सांसद् वसन्त कुमार बानियाँको विशिष्ट आतिथ्यता, कचनकवल ३ नं वडाध्यक्ष ग्याँस अजमल मियाँ तथा आदर्श क्रिकेट क्लबका अध्यक्ष पुरण भण्डारीको आतिथ्यता तथा विभिन्न विद्यालयका प्र. अ, शिक्षक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीको उपस्थितिमा पथरिया मा.वि. को खेलमैदानमा सफलता पूर्वक समापन भएको छ ।


उक्त खेलमा विद्या निकेतन सेकेण्डरी स्कुल, श्री स्वर्णिम शिक्षा सदन, श्री लक्ष्मी प्रसाद देवकोटा मा.वि, कचनकवल विद्या मन्दिर मा.वि, श्री महेन्द्र रत्न मा.वि गरी जम्मा ५ ओटा विद्यालयले सहभागिता जनाएको थियो ।


कचनकवलका प्रतिभाहरूको पहिचान गर्न तथा खेलाडीलाई थप हौसला दिई यस क्षेत्रमा आफ्नो उचाई कायम राख्न उक्त खेलको आयोजना गरिएको आयोजकले जनाएको छ ।


उक्त प्रतियोगिताको पहिलो खेल विद्या निकेतन सेकेण्डरी स्कुल र श्री लक्ष्मी प्रसाद देवकोटा मा.वि बीच सञ्चालन भएको थियो । जसमा, विद्या निकेतन सेकेण्डरी स्कुलले ८ विकेटको फराकिलो जित हाँसिल गरेको थियो ।


त्यस्तै, प्रतियोगिताको दोस्रो खेल श्री महेन्द्र रत्न मा.वि र श्री स्वर्णिम शिक्षा सदन बीच भएको थियो । जसमा, श्री महेन्द्र रत्न मा.वि ले श्री स्वर्णिम शिक्षा सदनलाई ९५ रनको भारी अन्तरले हराएको थियो ।


पहिलो खेलमा जित हाँसिल गरेको विद्या निकेतन सेकेण्डरी स्कुल र दोश्रो खेलमा जित हाँसिल गर्ने श्री महेन्द्र रत्न मा.वि तथा आयोजक टीम बीच लक्की ड्र गर्दा विद्या निकेतन सेकेण्डरी स्कुलले लक्की ड्र जितेर सिधै फाइनल खेलमा प्रवेश गरेको हो ।


श्री महेन्द्र रत्न मा.वि र कचनकवल विद्या मन्दिर बीच भएको दोस्रो सेमी फाइनल खेलमा श्री महेन्द्र रत्न मा.विलाई ६ विकेटले हराउदै आयोजक टीम फाइनल खेलमा प्रवेश गरेको हो ।


विद्या निकेतन सेकेण्डरी स्कुल र दोश्रो सेमी फाइनल खेलको विजेता बन्न सफल कचनकवल विद्या मन्दिर बीच भएको फाइनल खेलमा विद्या निकेतन सेकेण्डरी स्कुलले २ विकेटले जित हाँसिल गर्न सफल भएको हो ।


त्यस्तै, खेलको बेस्ट व्याट्स म्यानको उपाधि महेन्द्र रत्न मा.विका विक्रम माझी तथा बेस्ट बलारको उपाधि सोही टिमका सबैभन्दा कान्छा खेलाडी ११ वर्षीय सागर माझीले हात पारेका हुन् । उनले स्वर्णिम शिक्षा सदन बीच भएको खेलमा लगातार ३ विकेट र समग्रमा ७ विकेट लिन सफल भएका थिए ।