ईटहरी । तेह्रथुम जिल्ला मोराहाङ ९ सिकदेम घर भई हाल अमेरिकामा कार्यरत हेम थापा र माया थापाको स्वच्छन्द पवित्र हृदय सदैव समाजसेवामै रमाउँछन् । बुबा दीर्घ बहादुर थापा र आमा लक्ष्मी थापाको कोखबाट जन्मिएका हेम थापाले लामो समयदेखि समाजसेवा गर्दै आएकाछन् ।
सानैदेखि कसैको पनि दुःख देख्न नचाहने, दुःखी गरीबका लागि बाबुआमाको आँखा छलेर गरीबहरुलाई चामल दिने गरेका हेम थापा भन्छन् ‘म कसैको पनि दुःख देख्न चाहान्न अनि दुःख पाएको सुन्न पनि चाहान्न ।’ उनले समाजसेवा गर्न लागेको ३३ वर्ष भयो । सन् २००६ मा अमेरिका पुगेका उनले हालसम्म ५८ हजार जनताको लागि २६ करोड भन्दा बढी रुपैयाँ समाजसेवामा लगाएका छन् ।
नेपालमा चलेको तत्कालीन शसस्त्र द्वन्दको मारमा सबै नेपाली झैँ उनी पनि परे । आर्मीमा जागिर खाएका उनले १ वर्षपनि नबित्दै जागिर छोडे । त्यसपछि उनी देश छोडेर बैदेशिक रोजगारका लागि विदेशीए । उनको बैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक बन्यो कतार । त्यहाँ उनले ८ वर्ष बिताए । दुबईमा ३ वर्ष र इजरायलमा ३ वर्ष बिताए ।
पछिल्लो समय १२ वर्षदेखि अमेरिकामा रहेका हेम थापाले १७ वर्षको अवधिमा उक्त २६ करोड बढी रकम समाजसेवाका लागि खर्चिएका हुन् ।
गाउँमा रहँदा श्रीमतीको आठ तोला सुन समेत बेचेर गाउँका युवालाई सहयोग गरेको बताउने थापालाई समाजसेवाको रोग बुबा दिर्घबहादुर थापाबाट सरेको हो । समाजका लागि सधै अग्रणी भूमिका खेल्ने बुबाबाट सिकेको संस्कारले अहिले थापा देश तथा विदेशमा रहेका नेपालीबीच वरिष्ठ समाजसेवी बनेर सबैको मनमा छाएका छन् ।
थापाले नेपालमा समस्यामा परेकालाई मात्र होइन, इजरायलमा कार्यरत रहँदा पनि जेल परेका तीन नेपालीलाई १–१ हजार डलर तिरिदिएर जेलमुक्त बनाएको बताउँछन् । अहिले तल्लोबाटो हुदै अमेरिका पुगेकाले समेत फोन गर्छन भन्दै उनी थप्छन्, ‘समस्यामा परेकाहरूलाई कतिपयले मेरो नम्बर दिँदा रहेछन्, उहाँहरूले फोन गर्नुहुन्छ, उद्धार गरेर ल्याउँछु, काम मिलाइदिन्छु, आफ्नै कारबाट लाने ल्याउने समेत गर्छु ।’
थापा, उद्धारमा मात्र होइन, अमेरिकामा विभिन्न रोग लागेर उपचारमा समस्या भएका नेपालीको उपचारका लागि पनि त्यहाँका नेपाली संघ संस्थासँग मिलेर आर्थिक सहयोग गर्ने गरेको बताउँछन् । यतिधेरै समाज सेवामा आर्थिक रकम कसरी जुटाउनु भयो भन्ने प्रश्नमा थापा भन्छन्, ‘मैले १८ घण्टा खट्छु, यो सबै मेरो रगत र पसिना बगाएर कमाएको पैसा हो । पुगेन भनेपनि म गासैं कटाएर पनि सहयोग गर्न तयार हुन्छु ।’
समाजसेवालाई आत्मासन्तुष्टि बताउने हेमलाई श्रीमती माया थापाको पनि त्यतिकै साथ छ । आफूले दुःख गरेर कमाएको पैसा समाजसेवामा लगाउने भन्दै परिवारमा झगडा त हुँदैन् ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘उनी पनि त्यत्तिकै सहयोगी र दयालु छिन्, सहयोग गर्नुपर्छ भन्ने भावना छ उनको पनि त्यसैले त मैले हरेक कुरामा सहयोग पाएको छु ।’
स-परिवार न्यूयोर्कमा बस्दै आएका थापा दम्पत्तिका २ छोरा र एक छोरी छन् ।छोराछोरीले तपाईले गरेको समाजसेवाको बाटो पछ्याउलान् त भन्ने प्रश्नमा उनी भन्छन्, ‘छोराहरूलाई त्यति वास्ता छैन । तर, छोरीले भने यहाँ डाक्टर सकाएर नेपालको दुर्गम क्षेत्रमा गएर क्लिनक खोलेर बिरामीहरूको सेवा गर्छु भनेकी छन् ।’
बर्षिनी नेपाल आउँदा दिनदुखीको सेवामा रमाउने हेम थापा यसबर्षको दशैँ मनाएर परिवार सहित अमेरिका फर्कने क्रममा भने विराटनगर विमानस्थलमा आफन्त र ईष्टमित्रसँग बिदालिने क्रममा भने निकै भावुक बन्दै बिदा लिए मोरङबाट ।