बनियानी । कचनकवल गाउँपालिकाले आफ्नो नयाँ प्रशासनिक भवनको औपचारिक उद्घाटन गर्दै आजबाट स्थायी रूपमा नागरिक सेवा प्रवाह सुरु गरेको छ। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रशासनिक कार्यालय ध्वस्त भएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको गाउँपालिका कार्यालय अब पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवनबाट नियमित रूपमा सञ्चालन हुने भएको हो।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गत भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेनजी आन्दोलनका क्रममा बनियानी चौकस्थित गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी र तोडफोड भएपछि कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो। त्यसपछि गाउँपालिकाले सञ्चालनको तयारीमा रहेको आधारभूत अस्पतालको भवनबाट अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको थियो।

यसबीच गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था र बजेट व्यवस्थापन पूरा गरेको छ। सोहीअनुसार साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी सञ्चालनको तयारीमा रहेको आधारभूत अस्पताल भवनमा स्थानान्तरण भएपछि खाली भएको पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई गाउँपालिकाको स्थायी प्रशासनिक कार्यालयका रूपमा व्यवस्थापन गरिएको हो।

आन्दोलनका क्रममा क्षति पुगेको बनियानी चौकस्थित पुरानो प्रशासनिक भवनको प्राविधिक परीक्षण गर्दा मर्मतसम्भारपछि पनि प्रयोगका लागि जोखिमपूर्ण रहेको निष्कर्ष प्रयोगशालाको प्रतिवेदनले देखाएपछि नयाँ विकल्पको खोजी गरिएको थियो। उपलब्ध सार्वजनिक संरचनाको प्रभावकारी उपयोग गर्दै पुरानो प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई प्रशासनिक कार्यालयका रूपमा रूपान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार यस व्यवस्थासँगै नागरिकले अबदेखि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रूपमा यही भवनबाट नियमित रूपमा प्राप्त गर्नेछन्। यसले सेवा प्रवाहलाई थप सहज, व्यवस्थित र स्थायी बनाउने विश्वास व्यक्त गरिएको छ।

विध्वंसपछि सेवा निरन्तरता कायम राख्दै उपलब्ध सार्वजनिक संरचनाको विवेकपूर्ण व्यवस्थापनमार्फत स्थायी प्रशासनिक केन्द्र स्थापना गर्न सफल हुनु कचनकवल गाउँपालिकाका लागि संस्थागत पुनर्स्थापनाको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।