कचनकवल। खुला सीमाका कारण पछिल्लो समय लागुऔषध ओसारपसारको जोखिम बढ्दै गएको कचनकवलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियता प्रभावकारी बन्दै गएको देखिएको छ। निरन्तर निगरानी, चेकजाँच र सूचनाका आधारमा सञ्चालन गरिएका अभियानका क्रममा लागुऔषधसहित व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्।
यसै क्रममा इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायब निरीक्षक प्रकाशकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राति कचनकवल गाउँपालिका-४ (हरियाली झोडा) क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कचनकवल-२ सङ्गीतचोकका ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईने रहेका छन्। उनीहरूको साथबाट कालो प्लास्टिकमा लुकाइछिपाइ राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। तौल गर्दा प्लास्टिकसहित ४०० मिलिग्राम र प्लास्टिक बाहेक १८० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ।
कचनकवल नेपाल-भारत खुला सीमासँग जोडिएको संवेदनशील क्षेत्र भएकाले यहाँ लागुऔषध ओसारपसार र कारोबार नियन्त्रण चुनौतीपूर्ण रहँदै आएको छ। यद्यपि पछिल्ला दिनहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सक्रियताले यस्ता अवैध गतिविधिमाथि प्रभावकारी नियन्त्रण हुन थालेको संकेत देखिएको छ।
सुरक्षा निकायका अनुसार लागुऔषध नियन्त्रण प्रहरीको मात्रै जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व पनि हो। गाउँ-टोलमा हुने शंकास्पद गतिविधिबारे समयमै सूचना दिने, युवालाई लागुऔषधको दुष्प्रभावबारे सचेत गराउने तथा प्रहरीसँग सहकार्य गर्ने हो भने कचनकवललाई लागुऔषधमुक्त बनाउन थप टेवा पुग्ने विश्वास गरिएको छ।




















