झापा। बिर्तामोड-३ स्थित दृष्टि आँखा अस्पताल अगाडि प्रेम जी ईटा उद्योगको प्रेम ईटा ढुवानीमा प्रयोग हुँदै आएको प्र १-०१-००१ प १०१३ नम्बरको टिप्पर को ठक्करबाट गम्भीर घाइते भएकी ७० वर्षीया लिलामाया बुढाथोकी को उपचारका क्रममा निधन भएको छ। प्रहरीका अनुसार टिप्पर बिर्तामोडबाट बनियानीतर्फ जाँदै थियो। दुर्घटनापछि चालक कचनकवल-५ (पाठामारी) निवासी २१ वर्षीय जावेद आलमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
दुर्घटनापछि स्थानीयवासीले प्रेम जी ईटा उद्योगसँग सम्बन्धित ईटा ढुवानी गर्ने टिप्परहरू उच्च गतिमा र जोखिमपूर्ण ढंगले सञ्चालन हुने गरेको आरोप लगाउँदै कडा नियमनको माग गरेका छन्। उनीहरूले यस्ता भारी सवारीको गति नियन्त्रण, नियमित अनुगमन र कानुनी जवाफदेहिता सुनिश्चित नगरे निर्दोष नागरिकले अकालमै ज्यान गुमाइरहने अवस्था अन्त्य नहुने बताएका छन्।
घटनाको वास्तविक कारण र सम्भावित लापरबाहीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।(नोट : प्रेम जी हुनुपर्नेमा स्टार भएकोमा सच्याईएको छ।)




















