झापा, कचनकवल। सीमा सुरक्षा केवल सुरक्षा निकायको नियमित गस्ती र निगरानीमा मात्र सीमित रहँदैन, त्यसका लागि सीमावर्ती समुदायको विश्वास, सूचना र सक्रिय सहकार्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यही उद्देश्यलाई केन्द्रमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाले कचनकवल गाउँपालिका-२ स्थित सुकुनाडिगी सामुदायिक भवनमा ‘सीमाबासीसँग अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा स्थानीय सीमाबासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सीमाक्षेत्रमा देखिएका सुरक्षा चुनौती, सीमा व्यवस्थापन, समुदायको भूमिका तथा सुरक्षा निकायसँगको सहकार्यका विषयमा खुला छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले सीमा सुरक्षा प्रभावकारी बनाउन स्थानीय समुदायसँगको साझेदारी अपरिहार्य रहेको बताए। उनले सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा नागरिकको समयमै प्राप्त सूचना सबैभन्दा प्रभावकारी माध्यम बन्ने उल्लेख गर्दै सुरक्षा निकाय र नागरिकबीच विश्वासको सम्बन्ध अझ सुदृढ गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।

अन्तरक्रियामा घेरावारी गुल्मपति लक्ष्मणकुमार बस्नेत, बीओपी केचना प्रहरी निरीक्षक राजकुमार श्रेष्ठ तथा विभिन्न सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी) का प्रमुखहरूको उपस्थिति रहेको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटरअन्तर्गत रहेका सीमा सुरक्षा गुल्म तथा बीओपीहरूको अगुवाइमा सञ्चालन भइरहेको यो अभियानको उद्देश्य सीमाबासीसँग सुमधुर सम्बन्ध स्थापना गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनु रहेको जनाइएको छ।

अन्तरक्रियामा विशेष गरी अवैध चोरी-तस्करी, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, तेस्रो मुलुकका नागरिकको गैरकानुनी प्रवेश, लागूऔषध ओसारपसार तथा नियन्त्रण, सीमा व्यवस्थापन र नागरिक-सुरक्षा सहकार्य लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी स्थानीयवासीहरूले सीमा क्षेत्रमा देखिने समस्या तथा समाधानका उपायबारे आफ्ना सुझाव समेत प्रस्तुत गरेका थिए।

कचनकवल गाउँपालिकाका वडा नं. १, ४, ५ र ७ भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्लाको पाठामारी, कादोगाउँ पञ्चायतसँग सीमा जोडिएका क्षेत्र हुन्। खुला सीमाको संवेदनशीलताका कारण यी क्षेत्रमा चोरी-तस्करी, लागूऔषध कारोबार, गैरकानुनी आवतजावत तथा अन्य सीमापार अपराध नियन्त्रण सुरक्षा निकायका लागि निरन्तर चुनौतीका रूपमा रहने गरेका छन्।

यसै सन्दर्भमा सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमाबासीसँग अन्तरक्रिया’ कार्यक्रमलाई समुदाय-आधारित सीमा सुरक्षाको प्रभावकारी अभ्यासका रूपमा हेरिएको छ। सुरक्षा विज्ञहरूका अनुसार आधुनिक सीमा व्यवस्थापनमा केवल सुरक्षा बलको उपस्थितिभन्दा पनि स्थानीय समुदायको सहभागिता, विश्वास र सूचनामूलक सहकार्यले नै दीर्घकालीन रूपमा सीमा सुरक्षालाई बलियो बनाउने आधार तयार पार्छ। कचनकवलमा सम्पन्न यो कार्यक्रम त्यसै अवधारणाको व्यावहारिक उदाहरण बनेको सहभागीहरूको भनाइ छ।