झापा, कचनकवल। लक्ष्मी क्याम्पस बनियानीको व्यवस्थापन समिति निर्वाचनले क्याम्पसको नेतृत्वबारे भइरहेको लामो बहसलाई नयाँ मोड दिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदमा बालकृष्ण दँगाल ७६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी प्रदीप लामिछानेले ७१ मत प्राप्त गरे। दँगालले ५ मतको झिनो अन्तरले जित हात पारेका हुन्।

उपाध्यक्ष पदमा रूपा गौतम निर्विरोध निर्वाचित भएकी छन् भने लेखा संयोजकमा गणेश प्रसाद विष्ट पनि निर्विरोध निर्वाचित भएका छन्।

सदस्य (खुला) तर्फ मदनकुमार घिमिरे ८६ मत, मुन्ना आलम ९५ मत, संगम लुङ्वा तामाङ ६६ मत र श्यामकुमार घिमिरे ६५ मतसहित निर्वाचित भएका छन्। नारायण नेपालले ६४, राजन घिमिरेले ५८, करुण पोखरेलले ५६ तथा भीमकुमार मावो लिम्बुले ४४ मत प्राप्त गरे। सदस्य (दलित) तर्फ भक्तबहादुर विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् भने सदस्य (महिला) तर्फ पूर्णकुमारी बस्नेत र गङ्गा दँगाल ओझा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनअघि बालकृष्ण दँगालमाथि करिब १७ वर्षदेखि क्याम्पसको नेतृत्वमा निरन्तर प्रभाव कायम राखेको, नेतृत्व हस्तान्तरण नगरेको, व्यवस्थापन समितिमा आफ्नै पक्षको प्रभाव विस्तार गरेको लगायतका विषयमा व्यापक आलोचना भएको थियो। परिवर्तनको पक्षमा खुलेर अभियान चलाइए पनि मतपरिणामले त्यसको अपेक्षित प्रभाव देखाउन सकेन।

Scan_20260706

राजनीतिक तथा शैक्षिक वृत्तमा गरिएको विश्लेषणअनुसार दँगालको सदस्यता वितरण, मतदाता संरचना निर्माण र संगठनात्मक व्यवस्थापनको रणनीतिलाई उनका आलोचकहरूले समयमै सही रूपमा बुझ्न र त्यसअनुसार रणनीति बनाउन नसक्नु नै पुनः उनको विजयको प्रमुख कारण बनेको देखिन्छ। परिवर्तनको नाराभन्दा मतदाता व्यवस्थापन र संगठनात्मक तयारी नै निर्णायक बनेको विश्लेषण गरिएको छ। निर्वाचनअघि सम्पन्न साधारणसभामा दँगालले स्थानीय तहका जनप्रतिनिधिलाई अतिथिका रूपमा निम्त्याएर स्थानीय सरकारको खुलेर आलोचना गरेका थिए। सोही क्रममा उनले "स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुटाएर भए पनि लक्ष्मी क्याम्पस मैले जन्माएको बच्चा हो, मर्न दिन्न" भन्दै आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। उक्त अभिव्यक्तिले क्याम्पसप्रति दँगालको मात्रै योगदान रहेको खुला सन्देश दिएको भए पनि स्थानीय सरकारसँगको सम्बन्ध र सहकार्यबारे प्रश्नसमेत उठाएको थियो।

यही सन्दर्भमा अब अर्को महत्त्वपूर्ण परीक्षा भनेको नवनिर्वाचित नेतृत्वले स्थानीय सरकारसँगको सम्बन्धलाई कसरी व्यवस्थापन गर्छ भन्ने हुनेछ। किनभने सामुदायिक क्याम्पसको दीर्घकालीन पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि स्थानीय सरकारको नीति, बजेट तथा सहकार्य महत्त्वपूर्ण आधार मानिन्छ। साधारणसभाको मञ्चबाट स्थानीय सरकारको कडा आलोचना गरेका दँगालले अब त्यही स्थानीय सरकारसँग आवश्यक सहकार्य कायम गर्दै लक्ष्मी क्याम्पसलाई साँच्चिकै नमुना शैक्षिक संस्थाका रूपमा कसरी विकास गर्छन्, त्यो भने आगामी दिनले पुष्टि गर्ने विषय बनेको छ।

अध्यक्ष पदमा मतान्तर निकै कम रहे पनि समग्र परिणामले क्याम्पसभित्र दँगाल पक्षको संगठनात्मक प्रभाव अझै कायम रहेको संकेत गरेको छ। यससँगै अब नवनिर्वाचित नेतृत्वमाथि सुशासन, पारदर्शिता, शैक्षिक गुणस्तर अभिवृद्धि तथा सबै पक्षलाई समेटेर क्याम्पसलाई साझा संस्थाका रूपमा अघि बढाउने जिम्मेवारी अझ बढेको छ।