बनियानी। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत वन संरक्षण, वातावरणीय सन्तुलन तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ।
बढ्दो प्राकृतिक विपद् र जलवायुजन्य जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले आपत्कालीन प्रकोप तथा विपद् व्यवस्थापनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। विपद्को समयमा उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्य प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ।
वन तथा जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सामुदायिक वनहरूसँग सहकार्यमा कार्यक्रम सञ्चालन गर्न ७ लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, क्षेत्रकै महत्वपूर्ण वन सम्पदामध्ये एक देउराली चारकोशे सामुदायिक वन को संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्थानीय सरकारको यो बजेटले विपद् प्रतिकार्य क्षमताको विकास, वातावरण संरक्षण र वन स्रोतको दिगो व्यवस्थापनलाई एकैसाथ अघि बढाउने लक्ष्य लिएको देखिन्छ। विकाससँगै वातावरणीय सन्तुलन कायम राख्ने सोचका साथ ल्याइएको कार्यक्रमले कचनकवललाई विपद्-प्रतिरोधी र वातावरणमैत्री पालिकाका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




















