बनियानी। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत स्वच्छ खानेपानी र सरसफाइलाई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको आधारभूत अधिकारका रूपमा स्थापित गर्दै खानेपानी पूर्वाधार विस्तारमा विशेष प्राथमिकता दिएको छ। “स्वच्छ खानेपानीको व्यवस्था, रोगरहित कचनकवलको अवस्था” भन्ने नारासहित गाउँपालिकाले प्रदेश सरकारको साझेदारीमा रु ८८ लाख बजेट विनियोजन गरेको जनाएको छ।

उक्त बजेटबाट हालसम्म सञ्चालनमा आउन बाँकी रहेका सबै वडाका खानेपानी आयोजनालाई सञ्चालनमा ल्याउने तथा सञ्चालनमा रहेका खानेपानी योजनाहरूमा पाइपलाइन विस्तार गरिनेछ। यस कार्यक्रमले सुरक्षित र नियमित खानेपानी सेवाको पहुँच बढाउँदै नागरिकको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

खानेपानीको सहज उपलब्धतासँगै जलजन्य रोगको जोखिम न्यूनीकरण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्वास्थ्य सुधारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गाउँपालिकाको छ। विशेषगरी ग्रामीण बस्तीमा खानेपानी पहुँच विस्तारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको दैनिक जीवनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

खानेपानीलाई केवल पूर्वाधार विकासको विषय नभई जनस्वास्थ्य र मानव विकासको आधारस्तम्भका रूपमा लिँदै कचनकवलले दीर्घकालीन स्वास्थ्य सुरक्षातर्फ महत्वपूर्ण कदम चालेको देखिन्छ। स्थानीय सरकार र प्रदेश सरकारबीचको साझेदारीमा अघि बढाइएको यो कार्यक्रमलाई समृद्ध र स्वस्थ कचनकवल निर्माणको आधारभूत लगानीका रूपमा हेरिएको छ।