बनियानी । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत पालिकाभित्रका हाट-बजारको पूर्वाधार विकास तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। बजार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित नाला, ब्लक तथा पेभर्स निर्माण लगायतका कार्यका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

उक्त कार्यक्रम अन्तर्गत पालिकाभित्र रहेका सबै प्रमुख बजार क्षेत्रको स्तरोन्नति गर्दै व्यवस्थित बजार संरचना निर्माण गरिनेछ। यसबाट वर्षायाममा हुने हिलाम्मे तथा जलनिकासका समस्या न्यूनीकरण हुनुका साथै स्थानीय व्यापार व्यवसाय प्रवर्द्धन, उपभोक्ताको सहज आवागमन र बजारको सौन्दर्य अभिवृद्धिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय आर्थिक गतिविधिको केन्द्रका रूपमा रहेका हाट–बजारलाई आधुनिक र व्यवस्थित बनाउने गाउँपालिकाको यो पहललाई ग्रामीण आर्थिक विकास र दीर्घकालीन पूर्वाधार निर्माणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।