बनियानी। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत युवा शक्ति, खेलकुद विकास र सामाजिक सचेतनालाई समेट्दै युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। “नवयुवाको जोश र ज्ञान : कचनकवलको भविष्यको शान” भन्ने नारासहित गाउँपालिकाले खेलकुद विकासका लागि रु २० लाख बजेट विनियोजन गरेको जनाएको छ।
उक्त बजेटमार्फत खेलकुद गतिविधिको विस्तार, प्रतिभावान खेलाडीको प्रोत्साहन तथा युवाहरूलाई खेलकुदमार्फत अनुशासित, स्वस्थ र सिर्जनशील नागरिकका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। गाउँपालिकाले युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि थप बजेट सुनिश्चित गरेको समेत जनाएको छ।
युवापुस्तामाझ बढ्दो लागुऔषध दुर्व्यसनको चुनौतीलाई मध्यनजर गर्दै गाउँपालिकाले लागुऔषध दुर्व्यसनविरुद्ध युवा अभियान सञ्चालनका लागि रु ५ लाख बजेट विनियोजन गरेको छ। अभियानमार्फत जनचेतना अभिवृद्धि, सामाजिक सहभागिता र युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने योजना रहेको छ।
गाउँपालिकाको यो नीति केवल खेलकुद पूर्वाधार वा कार्यक्रममै सीमित नभई युवाको ऊर्जा, ज्ञान र क्षमतालाई विकाससँग जोड्ने दीर्घकालीन सोचको रूपमा हेरिएको छ। खेलमैदानदेखि सामाजिक अभियानसम्म युवाको सक्रिय भूमिका सुनिश्चित गर्दै कचनकवलले समृद्ध र जिम्मेवार पुस्ता निर्माणको आधार तयार गर्न खोजेको देखिन्छ।




















