झापा, कचनकवल। कृषि उत्पादन वृद्धि, आधुनिक खेती प्रणालीको विस्तार तथा पशुपालन क्षेत्रको व्यवसायिक विकासलाई केन्द्रमा राख्दै कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि तथा पशुपन्छी विकास क्षेत्रमा ४ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गाउँपालिकाले “खेत-खेतमा बिजुली, कृषिमा उजेली” नारालाई व्यवहारमा उतार्न सातवटै वडामा कृषि विद्युतीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि पोल खरिद, जडान तथा गडान कार्यमा प्रति वडा ३० लाख रुपैयाँका दरले कुल २ करोड १० लाख रुपैयाँ बजेट सुनिश्चित गरिएको छ। कृषि विद्युतीकरणले सिंचाइ, उत्पादन लागत न्यूनीकरण र कृषि आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

दुग्ध उत्पादन वृद्धि तथा पशुधनको गुणस्तर सुधारका लागि नस्ल सुधार कार्यक्रम अन्तर्गत कृत्रिम गर्भाधान सेवा विस्तार गरिनेछ। साथै कृषि यान्त्रीकरण प्रवर्द्धन तथा डिप बोरिङ महसुल भुक्तानीका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।

उत्पादनमुखी खेतीलाई प्रोत्साहन गर्न माटो परीक्षण, जिंक वितरण, बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल वितरण लगायतका कार्यक्रम सञ्चालन गरिने भएका छन्। यी कार्यक्रमका लागि थप १० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

त्यसैगरी पशु स्वास्थ्य सेवा पहुँच विस्तार गर्दै पशु स्वास्थ्य शिविर, पशु विकास तथा मत्स्य विकास कार्यक्रम सञ्चालनका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसले पशुपालक किसानलाई प्रत्यक्ष राहत पुग्नुका साथै उत्पादन र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिक र प्रविधिमैत्री दिशातर्फ उन्मुख गराउने लक्ष्यसहित ल्याइएको बजेटले कृषि उत्पादन, पशुपालन तथा मत्स्य क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। कृषि नै स्थानीय अर्थतन्त्रको प्रमुख आधार रहेको कचनकवलमा यस बजेटलाई उत्पादन र समृद्धिसँग जोडिएको महत्वपूर्ण लगानीका रूपमा हेरिएको छ।