बनियानी । “बन्दैछ कचनकवल” नारालाई व्यवहारमा उतार्दै कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई सडक पूर्वाधार विकासको गौरवपूर्ण निरन्तरताको वर्षका रूपमा अघि बढाउने भएको छ। गाउँपालिकाले १० करोड ६० लाख रुपैयाँ बजेट सुनिश्चित गर्दै १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गर्ने योजना सार्वजनिक गरेको छ।

गाउँपालिकाले विभिन्न वडामा रहेका रणनीतिक तथा स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएका १४ वटा सडकलाई कालोपत्रे गर्ने निर्णय गरेको छ। यसअन्तर्गत घेराबारी-उग्रगाउँ-निमुबारी-मियामुनी सडक, वालुबाडी-रतिबारी-हरदासभिट्टा-आमबाडी सडक, मुस्लिम टोल हुँदै वडा कार्यालय जोड्ने सडक, माडवारी बाँध-सोमबारे-घोडामार सडक, फर्कागाछी-स्वास्थ्य चौकी-जब्बर चोक सडक लगायतका मार्गहरू स्तरोन्नति गरिनेछन्।

त्यसैगरी बनियानी इलाका प्रहरी कार्यालय-शान्ती चोक सडक, तारावना-कार्की गाउँ सडक, डाकुपाडा-हात्तीपाला सडक, प्रणामी मन्दिर हुँदै मूल सडक जोड्ने मार्ग, खोपकेन्द्र-बडोझोडा पुल तथा हरिसचन्द्र गाउँ सडक, बाल प्रावि-विद्युत कार्यालय सडक, मियामुनी-जमुना पुल सडक तथा चमारभिट्टा जोड्ने सडक समेत कालोपत्रे हुनेछन्। पिंडलबारी सडकको ढलानसहित स्तरउन्नति गरिने योजना पनि समावेश गरिएको छ।

पूर्वाधार विकासलाई केवल निर्माणमा सीमित नराखी संरक्षण र दिगोपनतर्फ उन्मुख हुँदै गाउँपालिकाले पालिका स्तरीय आपतकालीन पूर्वाधार निर्माण तथा मर्मत सम्भार कोष स्थापना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ। यस कोषमार्फत जीर्ण सार्वजनिक सम्पत्तिको संरक्षण, मर्मत र आकस्मिक पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय सरकारको यो योजनाले ग्रामीण बस्तीलाई सहज यातायात सञ्जालसँग जोड्नुका साथै कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। लगातार विस्तार भइरहेको कालोपत्रे सडक सञ्जालले कचनकवललाई आधुनिक पूर्वाधारयुक्त गाउँपालिकाका रूपमा स्थापित गर्ने आधार बलियो बन्दै गएको देखिन्छ।