बनियानी, झापा । आर्थिक अनुशासनलाई थप मजबुत बनाउँदै बेरुजुको बढ्दो दर नियन्त्रण गर्ने उद्देश्यसहित कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत ‘शून्य बेरुजु अभियान’ लाई विशेष प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले बेरुजु फर्छ्यौट तथा आर्थिक पारदर्शिता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने कर्मचारीहरूलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन र पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको जनाएको छ। बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार आर्थिक अनुशासनलाई वाञ्छित सीमाभित्र राख्दै बेरुजुलाई न्यूनतम तहमा झार्ने लक्ष्यसहित यो कार्यक्रम अघि सारिएको हो।
स्थानीय तहहरूमा बेरुजु नियन्त्रण अहिले चुनौतीका रूपमा देखिइरहेका बेला कचनकवलले दण्डभन्दा नतिजामुखी प्रोत्साहनको नीति अवलम्बन गरेको छ। यसले कर्मचारीमा उत्तरदायित्व, पारदर्शिता र वित्तीय सुशासनप्रति थप प्रतिबद्धता बढाउने अपेक्षा गरिएको छ।
गाउँपालिकाको भनाइमा सार्वजनिक स्रोत-साधनको प्रभावकारी उपयोग, समयमै लेखा परीक्षण, बेरुजु फर्छ्यौट र वित्तीय अनुशासनलाई संस्थागत संस्कृतिका रूपमा विकास गर्न यो कदम प्रभावकारी हुने विश्वास लिइएको छ।
स्थानीय सरकारको सुशासन यात्रामा “बेरुजु शून्यतर्फ, प्रशासनिक उत्तरदायित्व उच्चतर्फ” भन्ने सन्देशसहित कचनकवलले वित्तीय व्यवस्थापनलाई थप परिणाममुखी बनाउने संकेत दिएको छ।




















