बनियानी । कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रविधिमैत्री र गुणस्तरीय बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि सारेको छ। गाउँपालिकाले शिक्षा क्षेत्रका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै विद्यालय सुधारदेखि विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिसम्मका योजनालाई प्राथमिकतामा राखेको हो।
विनियोजित बजेटअन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि सेवा प्रवेश तथा पेशागत तालिम, स्थानीय आवश्यकता र पहिचान झल्किने स्थानीय पाठ्यक्रम विकास, विद्यालयमा विद्युतीय हाजिरी प्रणाली, शैक्षिक पहुँच सुनिश्चितता कार्यक्रम, निःशुल्क पाठ्यपुस्तक वितरण तथा डिजिटल सिकाइ सामग्री व्यवस्थापन गरिनेछ।
यसैगरी, आर्थिक रूपमा विपन्न तर अध्ययनमा उत्कृष्ट क्षमता भएका विद्यार्थीलाई प्रोत्साहन गर्न जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने भएको छ। गाउँपालिकाले दीर्घकालीन शैक्षिक सुधारका लागि गाउँ शिक्षा योजना निर्माण गर्ने तथा सबै विद्यालयमा कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने व्यवस्था समेत गरेको छ।
विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा र नवप्रवर्तन प्रवर्द्धन गर्न विद्यालय प्रदर्शनी कार्यक्रम सञ्चालन गरिनेछ भने प्रत्येक वडामा एक विद्यालय-एक नमुना बालविकास कक्षाकोठा र एक डिजिटल कक्षाकोठा स्थापना गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिकाले धार्मिक तथा परम्परागत शिक्षालाई समेत समेट्दै धार्मिक विद्यालयहरूका लागि विशेष बजेट विनियोजन गरेको जनाएको छ। साथै सामुदायिक विद्यालयहरूको भौतिक संरचना सुदृढीकरणका लागि संघीय सरकारसँगको साझेदारीमा २८ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ।
शिक्षालाई केवल साक्षरतामा सीमित नराखी प्रविधि, गुणस्तर र पहुँचसँग जोड्ने कचनकवल गाउँपालिकाको यो बजेटले आगामी वर्ष स्थानीय शिक्षा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।




















