झापा । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ५२ लाख ७६ हजार ४ सय ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बजेट प्रस्तुत गर्नुभएको छ।
प्रस्तुत बजेटमा चालुतर्फ ४५ करोड ७० लाख ९७ हजार रुपैयाँ तथा पूँजीगततर्फ २६ करोड ८१ लाख ७९ हजार ४ सय ९२ रुपैयाँ विनियोजन गरिएको छ। बजेटका अनुसार संघीय सरकार र कोशी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ १४ करोड १६ लाख ६ हजार रुपैयाँ, विशेष तथा समपूरक अनुदानतर्फ १ करोड ९३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३० करोड २४ लाख १० हजार रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट ११ करोड ३६ लाख ३७ हजार रुपैयाँ तथा प्रदेशको सवारी कर बाँडफाँटबाट ८२ लाख ९५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट १४ करोड २७ हजार ५१३ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पनि राखेको छ।
१.कृषि
पालिकाले कृषि र उत्पादनमा विशेष जोड दिएको छ। गाउँपालिकाले यस वर्षको मुख्य अभियान “उत्पादन, रोजगार, पर्यटन र पूर्वाधार : कचनकवल विकास र समृद्धिको आधार” लाई बजेटको केन्द्रमा राखेको छ। कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले “खेत-खेतमा बिजुली, कृषिमा उजेली” कार्यक्रम अन्तर्गत ७ वटै वडामा विद्युतीकरणका लागि २ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
२.बजार
पालिकाले बजार व्यवस्थापनका लागि १ करोड ५० लाख रुपैयाँ, कृषि यन्त्रीकरण, कृत्रिम गर्भाधान, डिप बोरिङ महसुल, माटो परीक्षण, जिंक वितरण, प्लास्टिक टनेल तथा पशु स्वास्थ्य कार्यक्रम लगायतका योजनासहित कृषि तथा पशु विकास क्षेत्रमा ४ करोड ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
३.पर्यटन
पर्यटन प्रवर्द्धनका लागि ५० लाख
पालिकाको गौरव आयोजनाका रूपमा रहेको नेपालको होचो भूभाग पर्यटन पूर्वाधार विकासका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै धार्मिक पर्यटकीय क्षेत्र भुतेश्वर महादेव मन्दिर पुनःनिर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ।
४.शिक्षा र स्वास्थ्यमा लगानी
शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत डिजिटल कक्षाकोठा, विद्युतीय हाजिरी, कम्प्युटर तथा प्रिन्टर वितरण, स्थानीय पाठ्यक्रम विकास, छात्रवृत्ति तथा विद्यालय प्रदर्शनी कार्यक्रम सञ्चालन गरिनेछ।
५.स्वास्थ्य
गाउँपालिकाले स्वास्थ्य तर्फ १ करोड रुपैयाँ विनियोजन गरिएको छ भने १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि थप १ करोड रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य स्वयंसेविकाको अवकाश प्रोत्साहन रकम ५० हजारबाट बढाएर ७५ हजार रुपैयाँ पुर्याइएको छ।
६.खानेपानी
खानेपानी तथा सरसफाइतर्फ प्रदेश सरकारसँगको साझेदारीमा ८८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
७.युवा तथा खेलकुद
गाउँपालिकाले खेलकुद क्षेत्र विकासका लागि २० लाख रुपैयाँ, लागुऔषध दुर्व्यसनविरुद्ध युवा अभियान सञ्चालन गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। गरिबी न्यूनीकरण, स्वास्थ्य बीमा तथा सामी परियोजनाका कार्यक्रम सञ्चालनका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
८.सडक पूर्वाधार
पालिकाले विकासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा १० करोड ६० लाख रुपैयाँ लागतमा गाउँपालिका क्षेत्रभित्र थप १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिने भएको छ। विभिन्न वडाका १४ वटा सडक योजनाको स्रोत सुनिश्चित गरिएको बजेटमा उल्लेख छ। त्यसैगरी पालिका स्तरीय आपतकालीन पूर्वाधार निर्माण तथा मर्मत सम्भार कोषका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
९.अपाङ्गता, महिला र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम
अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिँदै कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा ४४ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ। ज्येष्ठ नागरिक सम्मान तथा सहायक सामग्री वितरणका लागि १० लाख रुपैयाँ, विपन्न तथा दलित महिलाको सीप विकासका लागि ५ लाख रुपैयाँ तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनका लागि २ लाख रुपैयाँ छुट्याइएको छ।
१०.वन, वातावरण र सुशासन
विपद् व्यवस्थापन तथा राहतका लागि २० लाख रुपैयाँ, सामुदायिक वनसँग साझेदारीका कार्यक्रमका लागि ७ लाख रुपैयाँ तथा देउराली चारकोशे सामुदायिक वनका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
११.सुशासन तथा सेवा प्रवाहतर्फ
वडा कार्यालयसहित प्रशासनिक तथा चालु खर्चका लागि १२ करोड १८ लाख ४१ हजार रुपैयाँ विनियोजन गरिएको छ। कर्मचारी क्षमता विकास तालिमका लागि ५ लाख रुपैयाँ छुट्याइएको छ।
बजेटले कृषि, उत्पादन, सडक पूर्वाधार, स्वास्थ्य सेवा विस्तार तथा स्थानीय रोजगार सिर्जनालाई प्रमुख प्राथमिकतामा राख्दै “बन्दैछ कचनकवल” अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।




















