झापा, असार ८ - समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई व्यवहारिक र प्रभावकारी बनाउने अभियानमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान पछिल्लो समय एक स्थापित नामका रूपमा उदाएका छन्। लागूऔषध दुर्व्यसन नियन्त्रण, सामाजिक पुनःस्थापना तथा साइबर अपराधविरुद्ध जनचेतना फैलाउने अभियानमा उनको सक्रियता अहिले झापामा “चौहान ब्रान्ड” कै रूपमा परिचित हुन थालेको छ।

मेचीनगर नगरपालिका-६ स्थित स्वतन्त्र प्रतिष्ठान नेपाल लागूऔषध नियन्त्रण तथा लागूऔषध, मादक पदार्थ उपचार तथा परामर्श केन्द्र र मेचीनगर-७ स्थित लोफोफोरस इङ्लिस बोर्डिङ स्कुलमा आयोजित दुई छुट्टाछुट्टै सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक चौहानले लागूऔषध दुर्व्यसन तथा विद्युतिय (साइबर) अपराध सम्बन्धी प्रशिक्षण प्रदान गरेका हुन्।

उपचार तथा परामर्श केन्द्रमा रहेका करिब ३९ जना लागूऔषध सेवनकर्ताहरू लाई लागूऔषध सम्बन्धी कानुनी व्यवस्था, यसको शारीरिक, मानसिक र सामाजिक दुष्प्रभाव तथा पुनःस्थापनाका सम्भावनाबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागीहरूलाई समाजमा सम्मानपूर्वक पुनःस्थापित हुन प्रेरित गर्दै लागूऔषधबाट टाढा रहने जीवनशैली अपनाउन आवश्यक परामर्श प्रदान गरिएको थियो।

त्यसैगरी, लोफोफोरस इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ८ र ९ मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरू सहभागी रहेको कार्यक्रममा लागूऔषध दुर्व्यसनले व्यक्तित्व, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिइएको थियो। विद्यार्थीहरूलाई असल संगतको चयन, आत्मअनुशासन र जिम्मेवार नागरिकको भूमिकाबारे प्रेरणा दिइएको थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष साइबर अपराध सम्बन्धी सचेतना थियो। डिजिटल युगमा बढ्दो अनलाइन ठगी, सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत गोपनीयताको जोखिम तथा साइबर सुरक्षाका आधारभूत उपायबारे विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।

झापामा पछिल्लो समय प्रहरी निरीक्षक विजय चौहानले विद्यालय, समुदाय, पुनःस्थापना केन्द्र तथा विभिन्न सामाजिक संस्थाहरूमार्फत सञ्चालन गरिरहेका सचेतनामूलक कार्यक्रमहरूले सकारात्मक प्रभाव छोड्न थालेका छन्। अपराध भएपछि मात्र कारबाही गर्ने परम्परागत सोचभन्दा अपराध हुनै नदिने उद्देश्यसहित जनचेतना विस्तारमा केन्द्रित उनको कार्यशैलीले समुदाय र प्रहरीबीचको विश्वासलाई थप बलियो बनाएको देखिन्छ।

समाजलाई सुरक्षित, सचेत र जिम्मेवार बनाउने अभियानमा निरन्तर सक्रिय प्रहरी निरीक्षक विजय चौहानको भूमिका झापामा केवल एक प्रहरी अधिकृतको जिम्मेवारीमा सीमित नभई सामाजिक रूपान्तरणको अभियानसँग जोडिएको देखिन्छ। यही कारण आज धेरैले सचेतना, रोकथाम र समुदायमैत्री प्रहरी सेवाको उदाहरणका रूपमा “चौहान ब्रान्ड” लाई लिन थालेका छन्।