दमक । झापाको दमकमा टिप्परको ठक्करबाट जनकल्याण आधारभूत विद्यालय महाभाराका पूर्व प्रधानाध्यापक भिमबहादुर कार्कीको निधन भएको छ।
बुधबार बिहान करिब ९:५५ बजे दमक नगरपालिका-९ स्थित निम्स अस्पताल अगाडिको पूर्व-पश्चिम राजमार्गमा स्कुटी चलाइरहेका कार्कीलाई दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र.१-०२-००१ क ४२८५ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ। हाल उनी दमक-५ स्थित ज्येष्ठ नागरिक टोलमा बसोबास गर्दै आएका थिए।
दुर्घटनामा कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको तथा दाहिने हातमा चोट लागेको थियो भने नाक र कानबाट रक्तस्राव भएको थियो। तत्काल उपचारका लागि दमक अस्पताल लगिए पनि उपचारकै क्रममा बिहान १०:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
कार्कीले चलाएको मे ११ प १६२० नम्बरको स्कुटीमा गौरीगञ्ज गाउँपालिका-१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की समेत सवार रहेका थिए। उनी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि टिप्पर चालक घटनास्थलबाट फरार भएका थिए। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले महेन्द्र राजमार्गमा तीव्र गतिमा गुडिरहेको टिप्परले स्कुटीलाई ठक्कर दिएको जनाएको छ। त्यसपछि इलाका प्रहरी कार्यालय दमकले खोजतलास तीव्र बनाएको थियो।
खोजीका क्रममा दिउँसो करिब १२:३० बजे दुर्घटनामा संलग्न टिप्पर तथा चालक गौरादह नगरपालिका-९ बैगुनधुरा निवासी २९ वर्षीय दिपक प्रधानलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको छ।
शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका कार्कीको निधनप्रति स्थानीयवासी, पूर्व विद्यार्थी तथा शिक्षाकर्मीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनको निधनले दमकको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















