बनियानी, झापा । इलाका प्रहरी कार्यालय बनियानीमा करिब १० महिनादेखि इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी नायब निरीक्षक दीपेन्द्र गौतम इलाका प्रहरी कार्यालय गौरीगञ्जमा सरुवा हुनुभएको छ। उहाँको स्थानमा जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी नायब निरीक्षक कालुमान दनुवारलाई इलाका प्रहरी कार्यालय बनियानीमा खटाएको छ।
बनियानीमा कार्यकाल सम्हालेदेखि नै गौतमले कचनकवल गाउँपालिका क्षेत्रको शान्ति सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासनलाई मजबुत बनाउने कार्यमा विशेष सक्रियता देखाउनुभएको थियो। सीमावर्ती क्षेत्रको संवेदनशीलता, सामाजिक विविधता तथा स्थानीय चुनौतीबीच उहाँले अपनाएको सन्तुलित नेतृत्व शैलीले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप विश्वासिलो बनाएको स्थानीयवासीहरूको अनुभव छ।
विशेषगरी कचनकवलको इतिहासमै अत्यन्त संवेदनशील र अशान्त मानिएको भदौ २४ को घटनाका क्रममा गौतमले प्रदर्शन गरेको संयमता, धैर्यता र नेतृत्व क्षमताले उहाँलाई फरक पहिचान दिलाएको थियो। तनावपूर्ण अवस्थाबीच परिस्थितिलाई नियन्त्रणमा राख्दै प्रहरी कार्यालयलाई सम्भावित आगजनीबाट जोगाउन सफल हुनु उहाँको कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गरिन्छ।
कडा कानुनी कार्यान्वयनसँगै संवाद र सहकार्यलाई प्राथमिकता दिने गौतमको कार्यशैलीलाई स्थानीय तह, नागरिक समाज तथा सर्वसाधारणले सकारात्मक रूपमा लिएका थिए। मिजासिलो स्वभाव, कूटनीतिक व्यवहार र परिस्थितिअनुसार निर्णय लिन सक्ने क्षमताका कारण उहाँले प्रहरी सेवाप्रति नागरिक विश्वास बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मानिन्छ।
सरुवासँगै गौतमले बनियानी छाडे पनि उहाँले स्थापित गरेको जिम्मेवार, संयमित र नागरिकमैत्री प्रहरी नेतृत्वको छाप भने लामो समयसम्म स्मरणीय रहने स्थानीयको भनाइ छ। अब नयाँ जिम्मेवारीमा गौरीगञ्जतर्फ प्रस्थान गर्नुभएका गौतमलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बनियानीवासीले उहाँको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।
उता, नवआगन्तुक प्रहरी नायब निरीक्षक कालुमान दनुवारले पनि यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै पूर्ववर्ती नेतृत्वले स्थापित गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।




















