गोवा । भारतको गोवा राज्यस्थित पर्यटकीय क्षेत्रको एक नाइटक्लबमा भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको भारतीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन्। आइतबार राति अर्पोरास्थित क्लबमा लागेको आगोले केही मिनेटमै ठूलो रूप लिएपछि अधिकांश पीडितले बच्न नपाएर ज्यान गुमाउन पुगेका हुन्।

नेपालका राजदूत शंकर शर्माले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका छन्। उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गरेका छन्।

कचनकवल गाउँपालिका-२ का वडा सदस्य धन बहादुर गुरुङका माईला दाजु कमल गुरुङका छोरा सुदीप गुरुङ पनि उक्त घटनामा ज्यान गुमाउने नेपालीमध्ये परेका छन्।

सुदीपको निधनको खबर सार्वजनिक भएपछि कचनकवल क्षेत्रमा शोकको वातावरण बनेको छ। परिवारका सदस्यहरू गोवा पुगिसकेका छन् भने मृतक सुदीप गुरुङको पार्थिव शरीर नेपाल ल्याइने तयारी भइरहेको वडा अध्यक्ष लेखनाथ खत्रीले जानकारी दिएका छन्।

आगलागीको कारण अधिकारीहरूले प्राथमिक अनुसन्धानमा विद्युतीय पटाखाबाट आगो सुरु भएको हुनसक्ने बताएका छन्। क्लबको काठका संरचनाबाट सुरु भएको आगो तीव्र गतिमा फैलिनुले धेरैलाई भाग्न नपाई दुर्घटनामा परेका हुन्।

मृतकमध्ये धेरैजना भारतीय नागरिक रहेका छन् जसमा क्लबका कर्मचारी तथा नयाँ दिल्लीबाट छुट्टी मनाउन आएका पर्यटकहरू पनि छन्।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले घटनाको गम्भीरता बुझ्दै चार जनालाई पक्राउ गरिएको तथा अन्य नाइटक्लबहरूको समेत कडाइका साथ जाँच गर्ने निर्देशन दिएको बताएका छन्।

यो दुर्घटना गोवाको पर्यटन क्षेत्रमा सुरक्षा मापदण्डबारे गम्भीर प्रश्न उठाउने घटनाको रूपमा हेरिएको छ।