झापा, दमक । मिति २०८२ असोज २५ गते साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय दमकले विशेष सूचनाको आधारमा दमक नगरपालिका-३ वेलडाँगी भुटानी शरणार्थी शिविरमा गरेको छापामार अनुसन्धानबाट लागुऔषध खैरो हेरोइन सहित आठ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार वेलडाँगी शिविर सेक्टर A3, हट नं. ३५३ निवासी साजन थापाको घरमा लागुऔषध बिक्री वितरण हुँदै आएको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले कोठा खानतलासी गर्दा विभिन्न व्यक्तिहरु लागुऔषध सेवन र बिक्रीको तयारीमा रहेका अवस्थामा फेला पारेको हो।

कोठाभित्र चस्माको खोल भित्र लुकाइराखिएको ७ ग्राम ८०० मिलिग्राम खैरो हेरोइन (प्लास्टिक बाहेक) बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषध सहित पक्राउ परेका व्यक्तिहरुमा साजन थापा (२७ वर्ष) - झापा, दमक-३, वेलडाँगी भुटानी शिविर ,दिपेश तामाङ (३२ वर्ष) - इलाम, चुलाचुली-३ ,सनम राई (३२ वर्ष) - इलाम, चुलाचुली-३ ,आदित्य लिम्बू (१८ वर्ष) - झापा, दमक-३ ,पविन विश्वकर्मा (१९ वर्ष) - झापा, दमक-३ ,सुचन दर्जी (२५ वर्ष) - झापा, दमक-३ ,बिजय माझी (२५ वर्ष) - झापा, दमक-३, वेलडाँगी शिविर सेक्टर B2 र निश्चल पोर्तेल (२० वर्ष) -मोरङ, मिक्लाजुङ-८ पक्राउ परेकाछन्।

प्रहरीको जानकारी अनुसार, पक्राउ परेका मध्ये आदित्य लिम्बू ‘जेन्जी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट हतियार लुट्ने घटनामा संलग्न रहेको व्यक्ति हुन्।

त्यस्तै, निश्चल पोर्तेल भने हालै इप्रका उर्लाबारीमा लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा रहेको बेला २०८२/०५/२४ गते ‘जेन्जी आन्दोलन’का क्रममा हिरासतबाट भागी फरार भएका थिए र पुनः लागुऔषध प्रकरणमा पुनः पक्राउ परेका हुन्।

बरामद लागुऔषध, डिजिटल तराजु र अन्य प्रमाणहरु सहित सबै पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।