झापा, असोज २४ । जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापाको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज २३ गते राति करिब १० बजे गोप्य सूचनाको आधारमा छापा मार्दा उप्रेतीको घरको दोस्रो तलामा जुवा जन्य तास खेल भइरहेको अवस्थामा घरधनीसहित ११ जना व्यक्ति पक्राउ परेका हुन्।
प्रहरीले उक्त स्थानबाट ५२ पत्ती (एक बुक) तास, नगद दुई लाख पन्ध्र हजार पाँच सय पचास रुपैयाँ (रु. २,१५,५५०) र नौ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरुमा बिर्तामोड-८ का ३५ वर्षीय काली प्रसाद राजवंशी, ५३ वर्षीय भानु दाहाल, ४६ वर्षीय राजन भट्टराई, ३१ वर्षीय दिलिप प्रसाद राजवंशी, ५० वर्षीय ओमनाथ उप्रेती, २५ वर्षीय निरज रोक्का, २९ वर्षीय मनिष पौडेल, ३५ वर्षीय कुबेर मैनाली, २६ वर्षीय मनोज पौडेल, ३७ वर्षीय स्वस्तिक ओली र ३० वर्षीय प्रितम उप्रेती रहेका छन्।
पक्राउ परेका सबैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले जुवा जन्य अपराधमा संलग्न रहेका विरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।




















