कचनकवल । भदौ २४ गतेको शान्तिपूर्ण जेनजी आन्दोलनमा घुसपैठ गरी सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आशंका गरिएका व्यक्तिहरू सजाय कडा हुने थाहा पाएपछि फरार हुनथालेको स्थानीय स्रोतले बताएका छन्।

नेपालको मुलुकी फौजदारी संहिता, २०७४ अनुसार आगजनी, सार्वजनिक सम्पत्ति ध्वंस तथा समूहगत लुटपाटका गतिविधिलाई गम्भीर अपराध मानिएको छ। यस्ता अपराधमा पाँच वर्षदेखि चौध वर्षसम्म कैद सजाय, जरिवाना र क्षतिपूर्तिसमेत हुने प्रावधान छ।

यसैबीच, नेपाल प्रहरीले तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको फोटो वा भिडियो प्रमाण भए प्रहरीलाई उपलब्ध गराउन नागरिकसँग आग्रह गरेको छ। प्रहरीको सो अनुरोध सार्वजनिक भएलगत्तै संलग्न भएको आशंका गरिएका व्यक्तिहरू सजाय कठोर हुने निश्चित भएपछि भाग्न थालेको स्थानीस्रोतको दाबी छ।

सुरक्षाकर्मीहरूले फरार अभियुक्तहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने तयारी गरेको बताइएको छ। घटनामा संलग्न जोकोही उम्कन नसक्ने प्रष्ट पार्दै प्रहरीले “सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाटजस्ता अपराध क्षम्य हुँदैनन्” भनेका छन्।

यस्तै, सो घटनामा प्रत्यक्ष रुपमा बालबालिका प्रयोग गरिएको पाइएकोले अप्रत्यक्ष सहयोग गर्नेहरूको समेत प्रमाण संकलन भइरहेको प्रहरीले जनाएको छ। यस क्रममा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्दै सहायक घटनाका अभियुक्तसमेतलाई कानुनी कटघरामा ल्याइने स्पष्ट गरिएको छ।